नवलपरासीमा देउसी भैलो राती ९ बजे सम्म मात्रै

नवलपरासी ।।शुभ–दीपावली, नेपाल संवत ११४६ तथा छठ पर्वको अवसरमा सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ पर्व मनाउन जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) ले आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी पापन राज भण्डारीद्वारा हस्ताक्षरित सूचनामा चाडपर्वका बेला शान्ति सुरक्षामा असर पर्ने कुनै पनि गतिविधि नगर्न सबैलाई अनुरोध गरिएको छ। प्रशासनले मादक पदार्थ सेवन गरी पारिवारिक वा सामुदायिक झगडा, जुवातास, लठ्ठबाजी, हुुलदङ्गा, पटका र आतिशबाजी जस्ता जोखिमपूर्ण गतिविधि नगर्न सचेत गराएको छ।

त्यसैगरी, विष्फोटक वा आगलागी हुने खतरा हुने सामग्री, अत्यधिक ध्वनि प्रदूषण गर्ने साउन्ड सिस्टम, माइक, डेक र पब्लिक एड्रेस सिस्टमको प्रयोग गर्दा सावधानी अपनाउन समेत निर्देशन दिइएको छ।

प्रशासनले चाडपर्वका समयमा सहयोग, सहिष्णुता र सद्भावको वातावरणमा पर्व मनाउन, नियम विपरीतका गतिविधिमा संलग्न नभइ कानुनी व्यवस्था पालना गर्न अनुरोध गरेको छ। साथै, देउसी–भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरू राति ९:०० बजेभित्र सम्पन्न गर्न आग्रह गरिएको छ।

सूचनामा उल्लिखित अनुसार, चाडपर्वका बेला सुरक्षा संयन्त्र सतर्क रहने र कुनै पनि आपतकालीन घटना वा विपद् आएमा तुरुन्तै प्रशासनलाई जानकारी दिन समेत अनुरोध गरिएको छ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस