नवलपरासी — धान भित्र्याउने मौसम सुरु भएसँगै विभिन्न स्थानमा धान थ्रेसर (मेसिन) सञ्चालन बढ्दै जाँदा विद्युत् लाइनमा पराल अड्किएर सर्ट भएर आगलागी हुने घटनाहरू बढ्ने जोखिम देखिएको भन्दै विद्युत् प्राधिकरण बर्दघाट विरतण केन्द्रले सतर्क रहन उपभोक्तालाई आग्रह गरेको छ।
प्राधिकरणका अनुसार हाल खेतबारीमा थ्रेसर चलाउँदा बिजुलीका तार मुनि वा नजिकै सञ्चालन गरिँदा पराल, धुलो तथा धुवाँ तारमा ठोक्किने, अड्किने वा स्पार्क भएर आगलागी हुने सम्भावना उच्च देखिएको छ। यस कारण थ्रेसर सञ्चालन गर्दा सुरक्षित दूरीमा राख्न, बिजुलीको पोल र तार नजिक नजान, र मेशिन चलाउँदा कुनै असामान्य अवस्था देखिए तुरुन्तै नजिकको विद्युत् कार्यालय वा कर्मचारीलाई जानकारी गराउन अनुरोध गरिएको छ।
प्राधिकरणले कृषक तथा मेसिन चालकहरूलाई भनेको छ —
“थ्रेसर सञ्चालन गर्दा सर्तकता अपनाउनुस्, बिजुलीको तारमुनि काम नगर्नुस्, सानो लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ।”
यसैगरी प्राधिकरणले आगलागी वा सर्टको सम्भावना देखिए तत्काल आपतकालीन सम्पर्क नम्बरमा जानकारी दिन सबैलाई आग्रह गरेको छ।