नवलपरासी । बर्दघाट नगरपालिका वडा नम्बर १४ चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पतालले सेवा विस्तार गर्दै अब सर्जरी (अपरेसन) सम्बन्धी उपचार सेवा सञ्चालनमा ल्याउने भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुभवी सर्जन डाक्टरको उपस्थितिमा विभिन्न प्रकारका शल्यक्रिया तथा रोगहरूको उपचार सेवा यस अस्पतालमा उपलब्ध हुने भएको हो ।
अस्पतालका अनुसार आगामी कार्तिक १ गतेदेखि औपचारिक रूपमा अपरेसन सेवा प्रारम्भ हुँदैछ । अस्पतालले सर्वसाधारणलाई समयमै उपचारका लागि नाम दर्ता गरी सेवाको लाभ लिन अनुरोध गरेको छ ।
स्थानीय तहमा नै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ सुरु गरिएको यो पहलले नवलपरासीका नागरिकलाई सहज र किफायती उपचारको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।