प्रहरी दिवसमा अदालत जोगाउने प्रहरीलाई सम्मान

जेन–जी आन्दोलनको क्रममा कार्यालयमा क्षति हुन बाट बचाउने प्रहरीलाई जिल्ला अदालत नवलपरासीले सम्मान गरेको छ । अदालतमा पटक पटक तोडफोड र आगजनीको प्रयास भएपनि प्रहरीको सक्रियताले कुनै क्षति नभएकाले अदालतको सुरक्षामा खटिएका प्रहरीलाई सम्मान गरिएको हो ।

प्रहरी वरिष्ठ नायब निरीक्षक सहित १७ जना प्रहरीलाई प्रशंसा पत्रले सम्मान गरिएको अदालतका स्रेस्तेदार प्रेम नारायण पराजुलीले जानकारी दिनुभयो ।

भदौ २४ गते अदालतमा तिन पटक सम्म तोडफोडको प्रयास भएको थियो । अदालतको पुरानो गेट तोडेर भित्र छिरिसकेका आन्दोलनकारीलाई सुरक्षा निकायले बाहिर फर्काएका थिए । सुरक्षा निकायको सुझबुझपूर्ण कार्यले अदालतमा क्षति हुन नपाएको भन्दै प्रहरीको मनोबल वृद्धि गर्न पनि सम्मान गरिएको जिल्ला न्यायाधीश डाक्टर राजेन्द्र कुमार आचार्यले बताउनुभयो ।

आन्दोलनको समयमा परिस्थीति असामान्य हुने भएकाले सुरक्षाकर्मीको भूमिका महत्वपुर्ण हुने हुदा अदालतको रक्षा गर्न सुरक्षा निकाय सफल भएको बताउनुभयो । सो क्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जिल्लामा भदौ २४ गते भएको आगजनी र तोडफोडबाट व्यक्तिगत र सार्वजनिक गरि ३८ करोड बराबरको क्षति भएको जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले प्रहरीले निकै संयमता अपनाएर मानविय क्षति हुन नपाएको र अन्य स्थानको तुलनामा कम क्षति नवलपरासीमा भएको जिकिर गर्नुभयो ।

नेपाल बार एसोसियसनका अध्यक्ष रामकृष्ण पौडेलले जेनजीको नाममा तोडफोड र आगजनीमा उत्रिएकाहरु माथी कानुनु अनुसार कारवाही हुनुपर्ने भन्दै नभए अन्य समयमा पनि यसकिसिमका कार्यहरुले प्रसय पाउने बताउनुभयो । जेनजी आन्दोलनको दोस्रो दिन नवलपरासीमा आगजनी र तोडफोडका घटना व्यापक भएका थिए । अन्य स्थानमा बल प्रयोग नगरेपनी अदालत अगाडी हवाई फायर र अश्रुग्यास प्रहार गरेर भिड तितरबितर पारिएको थियो।

-रेडियो परासी बाट

ताजा अपडेट

खोजी गर्नुहोस