नवलपरासी,पश्चिम्
युरिया मलको हाहाकार भइरहेका बेला जनप्रतिनिधिहरुको पटक पटकको दौडधुपले नवलपरासीमा थप मल आएको छ । मल अभाव भएपनि जनप्रतिनिधिहरुले कुनै पहल नभएको भन्ने चौतर्फी आलोचना भएपछि जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र सभासद्हरु कृषि सामग्री कम्पनीको भैरहवास्थित प्रदेश कार्यालय र मुख्यमन्त्री कार्यालयमा दौडधुप गरेका थिए । जसको परिणामले आज (बिहीबार) दिउँसो ८३ मेट्रिक टन युरिया र ८४ मेट्रिक टन डिएपी मल आएको हो ।
जनप्रतिनिधिहरुले तत्काल मल उपलब्ध गराउन आग्रह गरेअनुसार प्रदेश मन्त्रालयले ३१५ मेट्रिक टन युरिया मल उपलब्ध गराउने आश्वासन दिएर जनप्रतिनिधिहरुलाई पठाएको थियो । ३१५ मध्ये बाँकी २३२ मेट्रिक टन युरिया आउनेक्रममा रहेको कृषि सामग्री कम्पनी लिमिटेड परासीका प्रमुख ताराप्रसाद खनालले परासी पत्र अनलाइनलाई जानकारी दिनुभयो । ‘अहिले आएको मल बाहिरी जिल्लालाई तोकिएको मलको कोटाबाट काटेर नवलपरासी पठाइएको हो ।’ खनालले भन्नुभयो ।
प्रदेश कार्यालयले पठाउने ३१५ मेट्रिक टन मल लिनका लागि कृषि सामग्री कम्पनीले कोटा निर्धारण गरेर आजै (बिहीबार) सम्बन्धित पालिकामा पठाएको छ । कोटा निर्धारण गरेर पठाएका पालिकाहरुमा रामग्रामलाई ६१ दशमलब ५५० मेट्रिक टन, सुनवललाई ४३ दशमलब ४ सय र बर्दघाटलाई ४० मेट्रिक टन रहेको छ । त्यसैगरी सरावललाई ४४ दशमलब ५ सय, पाल्हीनन्दनलाई ३३ दशमलब ८५०, प्रतापपुरलाई ५१ द्यशमलब १५० र सुस्तालाई ४० दशमलब ५५० मेट्रिक टन रहेको कृषि सामग्री कम्पनी परासीले जनाएको छ ।
यसअघि साउन १९ गते आएको २१५ मेट्रिक टन युरियामध्ये अझै ७० मेट्रिक टन जान बाँकी रहेको र त्यसका लागि सम्बन्धित ३ सहकारीले रकम भुक्तानीसमेत गरेको खनालले जानकारी दिनुभयो ।