सरकारले किसानलाई करदाता र मतदाता मात्रै ठान्यो : ह्रदयेश त्रिपाठी

काठमाडौ ।जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले किसानलाई करदाता र मतदाता मात्रै ठानेको आरोप लगाएका छन् ।

बिहीबार माइतीघरमा जारी उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै त्रिपाठीले किसान अझैसम्म सरकारको प्राथमिकतामा नपरेको बताए । उनले भने, ‘राज्यले किसानलाई प्राथमिकतामा राखेन । किसानलाई कर तिर्ने र मत दिने मात्रको रूपमा बुझियो । यही भ्रमले किसानलाई आजसम्म सबैले हेरेका छन् ।’

उनले किसान आन्तरिक रूपमा विभाजित हुने भएकाले थप मारमा परेको उल्लेख गर्दै अधिकारका लागि एकजुट हुन आग्रह गरे । त्रिपाठीले भने, ‘किसान हरेक आलीबाट विभाजित हुन्छन् । जब मार खान्छौँ, तब मात्रै एक हुन्छौँ । तर यदि सुरु देखिनै एक भएर लड्न सके, मार खानुपर्दैन ।’

उनका अनुसार उखु किसानको माग पूरा गर्न सरकारले आलटाल गरिरहेको छ । विशेषतः अर्थ मन्त्रालयको ढिलासुस्तीले समस्या बढेको उनको दाबी छ ।

हाल उखु किसान सरकारले तोकेको प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान नपाएको भन्दै माइतीघरमा आन्दोलनरत छन् । सरकारले दिने भनिएको अनुदानमा आधा कटौती गरेको किसानको गुनासो छ ।

ताजा अपडेट

खोजी गर्नुहोस