नवलपरासी,पश्चिम्
जिल्ला कारागार पश्चिम नवलपरासीमा क्षमता भन्दा तिन गुणा बढि कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । १ सय ७५ जना कैदीबन्दी मात्र राख्ने क्षमता भएको कारागारमा हाल ५ सय ४५ जना कैदीबन्दी रहेको कारागार प्रशासक विकल श्रेष्ठले जानकारी दिनुभयो । अहिले कारागारमा ४ सय ५२ पुरुष, ८६ जना महिला र एक बालक सहित ७ जना बालिका रहेका छन् ।
साविकको पश्चिमाञ्चल क्षेत्रमै नमूना करागारका रुपमा रहेको भएपनि अहिले क्षमता भन्दा बढि कैदीबन्दी हुँदा समस्या बढ्दै गएको कारागार प्रशासनले जनाएको छ । धेरै मानिस हुँदा सुत्न, खाना खान, शौचालय प्रयोग गर्न समस्या हुने गरेको कैदीबन्दीहरुले गुनासो गरेका छन् । झन्डै १५ जनाले एउटा बाथरुम प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । मनोरञ्जन लगायत अन्य प्रयोजनका लागी बनाइएका कोठा समेत सुत्नका लागी प्रयोग भएका छन् । गर्मी महिना भएकाले बाहिर पनि कैदीबन्दी सुत्ने गरेका छन् ।
पानी पर्न थालेपछी भने समस्या हुने श्रेष्ठले बताउनुभयो । कुनै सरुवा रोग फैलिएमा महामारीको रूप लिन सक्ने जोखिम पनि रहेको छ । सदरमुकाम परासीको मुख्य बजार क्षेत्रमा रहेको कारागार साँघुरो भएपछि केही वर्ष पहिले फराकिलो स्थानमा सारिएपनि कैदीबन्दी बढ्दै जादा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।
जिल्ला विभाजन पछि पूर्वी नवलपरासीमा हाल सम्म कारागार नहुँदा समस्या भएको छ । सो क्षेत्रका कैदीबन्दी समेत परासी कारागारमा ल्याएर राख्ने गरिएको छ । कैदीबन्दी बढि भएपछि केही दिन अगाडि २२ जना कैदिबन्दीलाई नुवाकोट कारागारमा स्थानान्तरण गरिएको छ ।