नवलपरासी । पश्चिम नवलपरासी जिल्लामा यस वर्ष धान उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। सिँचाइ सुविधा, समयमै भएको वर्षा, र मलखादको सहज उपलब्धताका कारण यस वर्ष धान उत्पादनमा सुधार आएको हो।
कृषि ज्ञान केन्द्र परासीका कृषि अधिकृत नवराज घिमिरेका अनुसार, गत वर्ष ९१ हजार ५०२ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ९५ हजार ०२७ मेट्रिक टन उत्पादन भएको छ। यो गत वर्षको तुलनामा १.५३ प्रतिशतले बढी हो। धान उत्पादन वृद्धि हुनुमा हाईब्रिड जातका धान, उन्नत बीउको प्रयोग, र समयमै मलखादको उपलब्धता प्रमुख कारण रहेको कृषि अधिकृत घिमिरेले बताउनु भयो । रोग तथा कीराको कम प्रभाव र उन्नत प्राविधिक सहयोगले पनि उत्पादन सुधार गरेको उनले जानकारी दिनु भयो ।
सिँचाइ सुविधाको अभाव रहेका स्थानहरूमा संघ, प्रदेश, र स्थानीय सरकारको समन्वयमा सिँचाइको प्रबन्ध गरिएको छ, जसले उत्पादनमा सकारात्मक प्रभाव पारेको कृषि ज्ञान केन्द्रले जनाएको छ। हर्दिनाथ-६, साभा, मन्सुली गोल्डेन, इन्डिया जात, र हाईब्रिड धानका बीउ जिल्लामा प्रचलित छन्। जिल्लाभर २० हजार ४८० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। रामग्राम नगरपालिका, सरावल गाउँपालिका, र पाल्हीनन्दन गाउँपालिकामा सबैभन्दा बढी धान खेती हुने गरिएको छ। जिल्लामा बर्खे र चैते धानको खेती प्रचलनमा रहेको कृषि ज्ञान केन्द्रका अधिकारीहरूले बताएका छन्।
सिँचाइ व्यवस्थापनमा भएका सुधारहरूले किसानहरूलाई राहत दिँदै धान उत्पादनमा वृद्धि गरेको हो। यसले आगामी वर्षहरूमा पनि उत्पादकत्व अझै बढाउन मद्दत पुग्ने विश्वास गरिएको छ । धान उत्पादनमा भएको वृद्धि किसानहरूका लागि उत्साहजनक छ। मलखाद र सिँचाइ व्यवस्थामा निरन्तर सुधार गर्न सके, नवलपरासीले अझ राम्रो उत्पादन गर्ने संभावना छ।