पृथ्वीचन्द्र अस्पताल परासीमा पहिलोपटक पित्तथैलीको शल्यक्रिया सफल

  • hamroaakha
  • / स्वास्थ्य /
  • २०८२ श्रावण ६, मंगलबार (१ महिना अघि)
  • १६० पटक पढिएको

नवलपरासी ।पृथ्वीचन्द्र अस्पताल परासीमा पहिलोपटक पित्तथैलीको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। जनरल सर्जन डा. अब्दुल हकिमको नेतृत्वमा रहेको चिकित्सक टोलीले १८ वर्षीय राजकुमार धोवीको पित्तथैलीमा रहेको पत्थरी शल्यक्रिया मार्फत निकालेको हो।

रुपन्देहीको रोहिणी गाउँपालिका–३ निवासी धोवीको पित्तथैलीमा १३.५ मि.मि. आकारको पत्थरी फेला परेको थियो। उक्त पत्थरीलाई ओपन कोलिसिस्टेक्टोमी (Open Cholecystectomy) प्रविधिबाट शल्यक्रिया गरी निकालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले जानकारी दिनुभयो।

डा. हकिमका अनुसार, अस्पतालमा यसअघि पित्तथैलीको साना पत्थरी औषधि उपचारबाट मात्र निको पार्ने गरिएको थियो। तर पहिलोपटक शल्यक्रिया विधिबाट पत्थरी निकालेर नयाँ उपलब्धि हासिल गरिएको हो।

बिरामीकी आमा अम्रावती धोवीका अनुसार, भैरहवामा एक्स-रे गराउँदा छोराको पित्तथैलीमा पत्थरी रहेको पुष्टि भएपछि परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा सम्पर्क गरिएको थियो। “हाम्रो आर्थिक अवस्था कमजोर छ। भैरहवा वा बुटवल जान गाह्रो भएकाले परासीमै उपचार सम्भव भएपछि यहीँ शल्यक्रिया गरायौँ,” उहाँले भन्नुभयो।

पृथ्वीचन्द्र अस्पतालमा पछिल्ला दिनहरूमा विशेषज्ञ सेवा क्रमशः थपिँदै गएको र उपचार सेवा प्रभावकारी बन्दै गएको डा. होदाले जानकारी दिनुभयो। हाल अस्पतालको सेवा प्रदेश सरकारद्वारा निर्माण गरिएको सुविधासम्पन्न नयाँ भवनबाट प्रवाह भइरहेको छ।

नयाँ भवनको औपचारिक उद्घाटन आगामी साउन १० गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबाट गरिने कार्यक्रम तय गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस