नवलपरासी , पश्चिम्
विपन्न नागरिकलाई लक्षित गरी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका प्राङ्गणमा कपडा बैङ्क स्थापना गरिएको छ।
बर्दघाट जेसिज र क्लोथ एण्ड फुड बैङ्क नेपालको संयुक्त आयोजनामा कपडा बैङ्कको स्थापना गरिएको हो।
हुम्ला जुम्ला लगायत ग्रामीण दूरदराजका बस्तीमा गरी देशका विभिन्न भागमा १६५ स्थानीय तहमा क्लोथ एण्ड फुड बैङ्क स्थापना गरिएको अध्यक्ष कमल जिसीले जानकारी दिनुभयो ।वार्षिक रुपमा दुई करोड मूल्य बराबरका ३२ देखि ४० टन लुगा सङ्कलन गरिएको जिसीले बताए ।
कपडा बैङ्कको उद्घाटन गर्दै बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले पुराना कपडालाई प्रसोधन गरेर पुनः प्रयोग गर्न मिल्नेगरी कपडा बैङ्कको स्थापना गरिएको बताउनुभयो । उहाँले यो अभियानमा सबैले साथ दिन आग्रह गर्दै आगामी दिनमा फुड बैङ्क समेत बिस्तार गर्दै लगिने बताए। “हाम्रो सानो सहयोगले पनि अरुलाई ठूलो खुसी मिल्छ, बिकास निर्माण भनेर मात्रै हुदैन मानवीय धर्म पनि हामिले बिर्सनु हुँदैन” नगरप्रमुख श्रेष्ठले भने ।हुनेले नहुनेलाई सहयोग गर्नु नै मानवीयता भएकाले कपडा बैङ्कलाई सबैले सहयोग गर्ने नगर प्रमुख श्रेष्ठले आग्रह गरे ।
बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा स्थापना भएको कपडा बैङ्कमा कपडा सङ्कलन गरेर नगर भित्रका विपन्न नागरिक र तत्कालै आवश्यक पर्ने स्थानमा वितरण गरिने र थप स्थानमा बैङ्क स्थापना गर्दै लगिने बर्दघाट जेसिसका अध्यक्ष मोहन सापकोटाले बताए ।बर्दघाट नगरपालिकाले विगतका वर्षहरूका जाडो याममा समेत विपन्न समुदायमा लत्ता कपडा बितरण गरेको थियो ।