नवलपरासी । बर्दघाट नगरपालिकाले ‘पुर्ण खोप र शून्य होम डेलिभरी’ सुनिश्चित घोषणा भएको छ । बर्दघाट नगर २ बर्ष अगाडि नेपालकै पहिलो सस्थागत सुत्केरी सेवा पुर्ण रुपमा उपलब्ध गराउने नगरपालिका घोषणा गरिएको थियो ।
घोषणा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख भगौती यादवले नगर शिक्षा र स्वास्थ्यको क्षेत्रमा अनुकरणीय बनेको उल्लेख गर्दै मानव विकास सूचकाङ्क सुधारका लागि यस्ता कार्यक्रम महत्वपूर्ण भएको बताउनु भयो । किशोर–किशोरी तथा बालबालिकालाई लक्षित कार्यक्रम थप प्रभावकारी ढंगले सञ्चालन गर्नु आवश्यक रहेको उहाको भनाइ छ ।
कार्यक्रममा नगरप्रमुख शम्भुलाल श्रेष्ठले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी काम गर्दा स्वास्थ्य क्षेत्रमा सकारात्मक उपलब्धि देखिएको बताउनु भयो । संक्रामक तथा नसर्ने रोगको उपचार तथा स्वास्थ्य सेवाको पहुँच विस्तारमा नगर गम्भीरताका साथ लागिपरेको उल्लेख गर्दै नगर प्रमुख श्रेष्ठले नगरलाई छिट्टै ‘बालमैत्री नगरपालिका’ घोषणा गर्न लागिएको जनाउँदै वडा नं. ८ पछि क्रमशः वडा नं. ६, ७ र १४ लाई घोषणा गरिने तयारी भइरहेको जानकारी दिनु भयो ।
हाल बर्दघाट नगरपालिकामा हाल १७ वटा आधारभूत स्वास्थ्य संस्था र दुईवटा अस्पतालमार्फत स्वास्थ सेवा दिइँदै आएको छ । नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले सामाजिक र आर्थिक विकाससँगै किशोर र बालबालिकालाई सही मार्गमा डोर्योउन नगर प्रतिबद्ध रहेको बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले सामाजिक सूचकाङ्क सुधारका लागि गरिएको स्वास्थ्य सम्बन्धी कामहरूको नियमित समीक्षा भइरहेको उल्लेख गर्नु भयो ।
स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अङतबहादुर शाहीले पुर्ण खोप अभियानले ९० प्रतिशतभन्दा बढी रोगवाट बच्न सकिने बताउनु भयो । खोपले व्यक्तिलाई मात्र नभइ भविष्यको पुस्तालाई सुरक्षित बनाउने भएकाले सबै बालबालिकालाई अनिवार्य खोप आवश्यक रहेको उहाको भनाइ छ । बर्दघाट नगरका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार नगरभित्रका सबै बालबालिकाले आवश्यक सबै खोप प्राप्त गरिसकेका छन् भने गृह प्रसूति शून्यमा झरेको छ।
बर्दघाट नगरलाई खोप समन्वय समितिको बैशाख ११ गतेको निर्णयअनुसार घोषणा पुर्ण खोप युक्त नगर घोषणा गरिएको हो । स्वास्थ्यकर्मी भेषराज शर्माले अभियान सुरु हुँदा १५ प्रतिशत बालबालिकाले खोप नपाएको अवस्था रहेको उल्लेख गर्दै हाल सबै बालबालिकाले खोप प्राप्त गरिसकेको बताउनु भयो । बर्दघाट नगरले पुर्ण खोप र सस्थागत सुत्केरी घोषणा पहिले गर्दै नितिगत रुपमा अब्बल काम गरिसकेको उल्लेख गर्दै उहाले अब केहि नयाँ आयमको सुरुवात गर्नु पर्नेमा जोड दिनु भयो ।
हाल बालबालिकाहरुलाई १४ प्रकारका रोगविरुद्ध खोप प्रदान गरिएको छ । कार्यक्रममा सामाजिक विकास समिति संयोजक भिमकाजी गुरुङ, बेस नेपालका शालिकराम पोख्रेल, महिला स्वयंसेविका अमृत पौडेल, स्वास्थ्यकर्मी सुदिपा शर्मा, नेपाल पत्रकार महासंघ उपाध्यक्ष विकास अधिकारी लगायतले मन्तव्य राख्नु भएको थियो ।
प्रोटोकल अनुसार गरिएको चारपटकको स्वास्थ्य परीक्षणमा १ हजार ३ सय ९९ महिलामध्ये ९५ दशमलव ८२ प्रतिशतले स्वास्थ्य संस्था पुगेर प्रसूति गराएको तथ्याङ्क छ। १५ महिनासम्मका १ हजार २ सय बालबालिकाको खोप कार्ड बनेको छ भने १६ महिना देखि ५९ महिनासम्मका ३ हजार ५ सय ८२ बालबालिकाले खोप प्राप्त गरिसकेका छन् ।कार्यक्रममा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो ।