नवलपरासी,पश्चिम्
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकालाई लुम्बिनी प्रदेशको पहिलो पुर्ण संस्थागत प्रसुती सेवायुक्त सुनिश्चित भएको नगरपालिका घोषणा गरिएको छ । विहिबार आयोजित एक कार्यक्रमका बिच सरकारले जारी गरेको पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्डका आधारमा रामग्रामलाई पुर्ण संस्थागत प्रसुती सेवायुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।
मापदण्ड अनुसार कम्तीमा चार पटक गर्भ जांच गरेका गर्भवती महिला कम्तिमा ९० प्रतिशत, दक्ष प्रसुतिकर्मीद्वारा ९५ प्रतिशत सुत्केरी स्वास्थ्य संस्थामा गराएको, घरमा हुने प्रसुति शुन्य र मापदण्ड अनुसार तीन पटक सुत्केरी जाँच कम्तिमा ९० प्रतिशत गराएको सुनिश्चतता भएपछि जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिले घोषणाका लागी स्वीकृति दिने व्यवस्था रहेको छ ।
जिल्ला प्रजजन स्वास्थ्य समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले सबै मापदण्ड पुरा गरेको आधारमा रामग्रामलाई पुर्ण संस्थागत प्रसुती सेवायुक्त सुनिश्चित भएको पालिका घोषणा गर्नुभएको हो। लुम्बिनी प्रदेशमा दुई वटा गाँउपालिका यसअघिनै सुनिश्चितता घोषणा भईसकेका छन् ।
रामग्राममा चालु आर्थिक वर्षमा १ हजार २२ जना सुत्केरी मध्ये १२ जना महिला अस्पताल लैजाने क्रममा र बाँकि सबै अस्पतालमा सुत्केरी भएका थिए । नगरपालिकाले मातृ शिशु कार्यक्रमलाई प्रभावकारी बनाउन गर्भवतीका लागी निशुल्क एम्बुलेन्स सेवा सहित गर्भवती तथा सुत्केरीलाई पोषकतत्व वितरण, ग्रामिण भेगमा निशुल्क भिडियो एक्स रे सेवा लगायतका कार्यक्रम गर्दे आएको नगर प्रमुख धनपत यादवले बताउनुभयो ।
ग्रामिण भेगका महिलाहरु सदरमुकाम परासी सम्म भिडियो एक्स रेका लागी आउन आनाकानी गर्ने र नियमित चेकजाँच पनि नगर्ने गरेकाले सदरमुकाम परासी बाट टाढा रहेका ८ ओटा स्वास्थ्य संस्थामा साप्ताहिक रुपमा भिडियो एक्स रे सेवा प्रदान गरेको नगर प्रमुख यादवले जानकारी दिनुभयो ।घोषणालाई दिगो रुपमा कायम राख्न सबैको सहकार्य आवश्यक रहने नगरप्रमुख यादवले उल्लेख गर्नु भयो ।नागरिक लाई सहज रुपम सेवा प्रदान गर्ने र सेवालाई परिस्कृत गर्दै लगिने उहाँले उल्लेख गर्नु भयो ।
प्रसुती सेवालाई प्रभावकारी बनाउन विभिन्न स्थानमा सुविधा सम्पन्न प्रसुती सेवा केन्द्र स्थापना, सुरक्षित मातृत्व सेवालाई प्राथमिकतामा राखी गर्भ जाँच र उत्तर प्रसुती सेवालाई स्वास्थ्यकर्मिले घरदैलोमै गएर सुत्केरी तथा नवजात शिशुलाई मापदण्ड अनुसार स्वास्थ्य जाँच गरि खोप लगाउने काम समेत गर्दे आएको नगरपालिकाले जनाएको छ ।
गर्भवती महिलाको ८ पटक जाँच र सुत्केरीको समयमा स्वास्थ्य स्वयमसेविका मार्फत नियमित निगरानी गरी स्वास्थ्य संस्था पुर्याउने व्यवस्था पनि नगरपालिकाले गर्दे आएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक सुरज हरिजनले जानकारी दिनुभयो ।
विहिबार नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपनाको पनि घोषणा गरिएको छ । १८ वटै वडामा घरधुरी सर्वेक्षण तथा खोजपड्ताल मार्फत ३ हजार २ सय ५० जना १६ देखि ५९ महिना सम्मका बालबालिका ले पुर्ण खोप पाएको हुनुपर्नेमा २६ जना छुट भएको पत्ता लगाएर खोप लगाईएको थियो ।
पुर्ण खोप तथा संस्थागत प्रसुती सेवायुक्त अभियानमा सघाउने विभिन्न सरकारी तथा गैरसकारी संघ संस्था र महिला स्वास्थ्य स्वयमसेविका सहित स्वास्थ्यकर्मिहरुलाई सम्मान गरेको थियो ।