पश्चिम् नवलपरासी
नवलपरासीमा पछिल्लो ६ महिनामा २ सय १ जनामा क्षयरोग रोग भेटिएको छ । उनीहरूले जिल्लाका विभिन्न ६१ स्थानमा रहेको डट्स केन्द्रबाट औषधि खाइरहेका छन् ।
विश्व क्षयरोग दिवसका अवसरमा रामग्राम नगरपालिकामा आयोजित कार्यालयमा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । ग्रामीण भेगमा पुगेर शंकास्पद व्यक्तिको जाँच गर्ने क्रम बढेपछि रोगीको संख्या पनि बर्सेनि बढ्दो रहेको छ ।
२०७९/८० मा ४ सय ७०, २०८०/८१ मा ५ सय २० रोगी भेटिएका छन् । चालु आर्थिक वर्षमा ८ सय रोगी पत्ता लगाउने लक्ष्यको साथमा रोगीको पहिचान र परिक्षण गर्ने काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जान मोहम्मद पठानले बताए ।
Advertisement
चालु आर्थिक वर्षमा परीक्षण गरिएकामध्ये सबैभन्दा धेरै रामग्राम नगरपालिकामा ४३ , बर्दघाट नगरपालिकामा ४२ , सुनवल नगरपालिकामा ३३ , सरावल गाउँपालिकामा २७, पाल्हिनन्दन गाउँपालिकामा २४, प्रतापपुर गाउँपालिकामा १५ र सुस्ता गाउँपालिकामा १५ जना रोगी भेटिएका छन् ।
ढिलो गरेर रोगको परीक्षण गर्ने र पूरा समय औषधि सेवन नगरेर स्वास्थ्यकर्मीको सम्पर्कमा नआउने कारण कतिपय बिरामीको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । अन्तरक्रियामा रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले रोगको पहिचान भएमा परिवार र समाजबाट अपहेलित हुने डरले रोग लुकाउने क्रम बढेको भन्दै जनचेतनामा विशेष जोड दिनुपर्ने बताइन् ।