बर्दघाटमा शीतलहर प्रभावितलाई न्यानो कपडा बितरण गरीने

  • hamroaakha
  • / समाज /
  • २०८१ पौष २३, मंगलबार (३ महिना अघि)
  • १३१ पटक पढिएको

 

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले शीतलहर प्रभावितलाई न्यानो कपडा प्राथमिकता दिने भएको छ। नगर विपत्ति व्यवस्थापन समितिको बैठकले सङ्घसंस्थासँग समन्वय गर्दै राहत वितरण गर्ने निर्णय गरेको छ।नगर प्रमुख शम्भुलाल श्रेष्ठका अनुसार शितलहरबाट बच्न दीर्घकालीन र अल्पकालीन योजना बनाई कार्यान्वयन गरिनेछ। “हामी कपडा बैङ्कको स्थापना गर्ने र न्यानो कपडा वितरण गर्ने तयारीमा छौँ,” श्रेष्ठले जानकारी दिनु भयो । नगरले न्यानो कपडा सङ्कलन र बितरण एकद्वार प्रणालीबाट गरिने श्रेष्ठको भनाइ छ ।

नवलपरासीमा पछिल्लो समय बढेका चिसोका कारण जनजीवन प्रभावित भएको छ । नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले सङ्घसंस्थासँगको समन्वयमा शीतलहर न्यूनीकरणका कार्यक्रम अघि बढाइने बताउनु भयो । “पूर्वतयारी र रोकथामका लागि योजनाका साथ कार्यान्वयनको तयारीमा छौँ,” उहाले भन्नुभयो । प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालका अनुसार पुस २८ गतेसम्म विपन्न वर्गको तथ्याङ्क सङ्कलन गरिनेछ। “न्यानो कपडा सङ्कलन तथा खरिद गरी वितरण गरिनेछ। दाउराको उपलब्धता सुनिश्चित गर्दै सुरक्षा निकायसँग समन्वय गरेर विपत्तिबाट जोगिन तालिम प्रदान गर्ने तयारी छ,” खनालले भन्नु भयो ।

नगरमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूले लक्ष्यीत वर्गलाई राहत पुगोस् भनेर सुझाव दिएका छन्। नेपाली काङ्ग्रेस बर्दघाटका सभापति दामोदर जिसी, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष तेजेन्द्र पुर्जा, राप्रपा नगर अध्यक्ष प्रकाशजङ्ग रायमाझीलगायतले तथ्याङ्क सङ्कलन, नक्साङ्कन र सङ्घसंस्थासँगको सहकार्यलाई प्रभावकारी बनाउन सुझाव दिनु भएको छ । बर्दघाट उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष तारा प्रसाद गौतमले नगरपालिकासँग सहकार्य गर्दै राहत वितरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

नेपाल रेडक्रस सोसाइटीहरुको तर्फबाट बोल्दै सुरज के.सी.ले रेडक्रस सोसाइटीलाई अग्रता दिएर सेवाको भावनाले राहत बितरण गर्नु पर्नेमा जोड दिनुभयो । शीतलहर न्यूनीकरणका लागि घरघरमा तातो पानी सेवन गर्ने, झोलिलो खाना खाने जस्ता उपायहरू अपनाउन नगरका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनु भयो । ” चिसोले श्वासप्रश्वास तथा दम हुन सक्छ, नजिकको स्वास्थ्य चौकीमा गएर उपचार र सरसल्लाह लिन सकिन्छ ।” ज्ञवालीले भन्नुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस