नवलपरासीमा २७ हजार ५९८ बालबालिकाको पोषण अवस्थाको लेखाजोखा गरिंदै

  • hamroaakha
  • / स्वास्थ्य /
  • २०८१ मंसिर ११, मंगलबार (४ महिना अघि)
  • ६९ पटक पढिएको

 

नवलपरासी,पश्चिम्

पश्चिम नवलपरासी जिल्लाका ६ देखि ५९ महिनाका बालबालिकाको पोषण अवस्थाको लेखाजोखा गर्ने काम बर्दघाट नगरपालिबाट शुरुवात गरिएको छ । जिल्लाका सातै वटा पालिकामा गरिने लेखाजोखा आज बर्दघाट नगरपालिकाको वडा नं. १४ बाट शुरु गरिएको हो ।

बेस नेपालको आयोजना र बर्दघाट नगरपालिकाको सहकार्यमा बालबालिकाको पोषण अवस्थाबारे प्रारम्भिक जानकारी लिने काम शुरु भएको बेस नेपालले जनाएको छ । शुभारम्भ कार्यक्रम बर्दघाट नगरपालिका वडा नं. १४ का अध्यक्ष सन्तबहादुर गाहा र जिल्ला समवन्य समितिका प्रमुख भगौती यादव रुदलको प्रमुख आतिथ्यतामा गरिएको हो ।

सो अवसरमा समन्वय प्रमुख यादवले बालबालिकाको स्वास्थ्यमा लगानी बढाउनु पर्ने बताउनु भयो । उहाँले बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन पोषणयुक्त खानेकुरा खुवाउने र स्वास्थ्य संस्थामा पहुँच अभिबृद्धि गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले ६ देखि ५९ महिनाका बालबालिकाको पोषण अवस्थाको लेखाजोखा गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । “स्वस्थ्य बालबालिका नै भोलिको स्वस्थ्य नागरिक भएकोले बालबालिकामा गरिएको लगानी महत्वपूर्ण हुन्छ, नगरप्रमुख श्रेष्ठले भन्नुभयो ।

बालबालिकाको पोषण अवस्थाको लेखाजोखा शुभारम्भ कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरव ढकालले नियमित रुपमा बालबालिकाको तौल लिने, पाखुराको नाप लिने र नियमित जाँच गर्न आमाहरुलाई सुझाव दिनुभयो ।

बर्दघाट नगरपालिकाका १६ वटा वडाका ६२ केन्द्रबाट ५ हजार १४९ जना बालबालिकाको पोषणको अवस्था लेखाजोखा गर्न लागिएको बेस नेपालका कार्यक्रम संयोजक शालिकराम पोखरेलले जानकारी दिनुभयो ।

जिल्लाभर २७ हजार ५९८ जना बालबालिकालाई ४ सय १९ केन्द्रमार्फत सामुदायिक पोषण लेखाजोखा गरिने भएको छ । बेस नेपालका अनुसार आगामी २ महिनाभित्र सो कार्य सम्पन्न हुने बताइएको हो ।

पोषण लेखाजोखामा कडा शीघ्र कुषोषण (साम) र मध्यम शीघ्र कुपोषण (माम) भएका बालबालिकालाई लक्षित गरी सामुदायिक पोषण लेखाजोखा गरिने भएको छ ।

बच्चाको पाखुराको मध्य परिधिको मापनबाट ११५ मिलिलिटर देखि १२४ सम्म मापन भएमा माम र ११५ मिलिलिटर भन्दा कम भएमा कडा शीघ्र कुपोषण भएको मानिने बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस