|oppo_0
नवलपरासी ।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको नेपाल नेत्रज्योति संघअन्तर्गत रहेको डा. विनोद निता कंण्डेल आँखा अस्पतालले एक वर्षको अवधिमा ५३ हजारभन्दा बढीको आँखाको जाँच गरेको छ ।
अस्पतालका अनुसार आर्थिक वर्ष २०८१\०८२ मा नियमित ओपिडी सेवा, विभिन्न उपकेन्द्र, विद्यार्थी आँखा जाँच कार्यक्रम र शिविरमार्फत ५३ हजार ६६६ जनाको आँखाको परीक्षण गरिएको हो।
गतवर्ष मात्रै अस्पतालमार्फत ३७ हजार ६ सय ३२ जना सेवाग्राहीले ओपिडीबाट सेवा लिएका छन् । यसबाहेक अस्पताल अन्तर्गत सञ्चालित चारवटा उपकेन्द्रहरू (सुनवल, सरावल, प्रतापपुर र सुस्ता) मार्फत २ हजार ६२९ जनाले सेवा लिएका छन् ।
यस्तै, विभिन्न स्थानमा सञ्चालित निःशुल्क शिविरहरूबाट ५ हजार ५८८ जनाको आँखाको परीक्षण गरिनुका साथै १ हजार ४ सय जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
विद्यालय केन्द्रित विद्यार्थी आँखा जाँच कार्यक्रम अन्तर्गत ७ हजार ३४६ जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ, भने परीक्षणपछि ३७० जना विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरिएको वरिष्ठ नेत्र साहायक एवं बाह्रय कार्यक्रम संयोजक राधिका यादवले जानकारी दिनुभयो ।
अस्पतालमार्फत १ हजार ४८९ जनाको मेजर शल्यक्रिया र ६७ जनाको माइनर शल्यक्रिया समेत गरिएको बताइएको छ ।
स्थानीय तहसँगको सहकार्यमा अस्पतालले सम्झौता गरेका पालिकाहरूका ४७१ जना नागरिकलाई निःशुल्क सेवा प्रदान गरेको छ । तीमध्ये सरावल गाउँपालिकाबाट १०३ जना, रामग्राम नगरपालिकाबाट ८४ जना, सुनवल नगरपालिकाबाट १०६ जना र बर्दघाट नगरपालिकाबाट साबै भन्दा धेरै १७८ जना रहेका छन् ।
वि.सं. २०४५ सालमा स्थापना भएको यो आँखा अस्पतालले सेवा विस्तार गुणस्तर अभिवृद्धि र नागरिकको पहँुच शुनिस्चित गर्ने कार्य निरन्तर गरिरहेको छ । पश्चिम नवलपरासीसहित पूर्वी नवलपरासीको विनय त्रिबेणी, रुपन्देही, कपिलवस्तु र भारतबाट समेत आउने सेवाग्राहीलाई सेवा दिँदै आएको अस्पतालका सूचना अधिकारी धिरेन्द्र कुमार साहानीले जानकारी दिनु भयो ।
उहाका अनुसार अस्पतालले सेभ फाउन्डेशन, डाक नेपाल लगायत अन्तर्राष्ट्रिय सहयोगी तथा विभिन्न संस्थाको सहकार्यमा नेपाल नेत्रज्योति संघको निर्देशनअनुसार गुणस्तरीय सेवा दिँदै आएको छ ।
अस्पतालबाट दैनिक रूपमा आँखा जाँच, ओपिडी सेवा, मोतियाबिन्दु, जलविन्दु, आँखामा मासु पलाउने, परेलाको समस्या लगायतका शल्यक्रिया तथा आकस्मिक सेवा, औषधि सेवा र निःशुल्क शिविरहरू सञ्चालन हुँदै आएका छन्।
साथै, विद्यालयका विद्यार्थीको आँखा परीक्षण, आवश्यकताअनुसार निःशुल्क चश्मा वितरण, शिक्षक तथा महिला स्वयंसेविकालाई प्राथमिक आँखा स्वास्थ्य सम्बन्धी तालिम र समुदायमा आँखा रोगसम्बन्धी जनचेतना फैलाउने कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएको साहानीले बताउनु भयो ।
असपतालले अघिल्लो आर्थिक वर्ष २०८०।०८१ मा भने ३७ हजार ९१६ जनालाइ नियमिति ओपिडि सेवा प्रदान गरेको थियो ।