भूमि विधेयकविरुद्ध नवलपरासीमा प्रदर्शन

परासी । सरकारले ल्याएको भूमि विधेयकविरुद्ध नवलपरासीमा प्रदर्शन भएको छ । संघीय लोकतान्त्रिक मोर्चा नवलपरासीले आज(शनिबार) सदरमुकाम परासीमा विरोध प्रदर्शन गर्दै विधेयकको प्रतिलिपि जलाएको छ ।

भूमि विधेयक र सरकार विरोधी नारा लगाउँदै निस्केको मोर्चा कार्यकर्ताको जुलुसले सदरमुकाम परासी बजार परिक्रमा गरी बुद्ध चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । सभामा बोल्ने मोर्चाका जिल्ला नेताहरुले भूमि विधेयक पास भई कानूनको रुपमा लागु भएमा यसले तराई/मधेसलाई भरुभूमिमा परिणत गराउने र भूमाफियाहरुलाई फाइदा पुग्ने भन्दै त्यसका विरुद्ध तराई÷मधेसका सबै जनता एक हुनुपर्नेमा जोड दिएका थिए ।

जनता समाजवादी पार्टी नेपाल(जसपा) जिल्ला अध्यक्ष धरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न विरोध सभामा लोकतान्त्रि समाजवादी पार्टी(लोसपा)का जिल्ला अध्यक्ष मुकुरजी गिरी, नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश चौधरी, जनता प्रगतिशिल पार्टी(जप्रपा) का जिल्ला अध्यक्ष राधेरमण पाण्डे, जसपाका जिल्ला सचिव मदन यादवलगायतले भूमि विधेयकको विरोध गरेकै कारण जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई गौर घटना ब्यूँत्याएर फसाउन खोजेको भन्दै त्यसका विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

कांग्रेस र एमालेका केही नेताहरुको असहमतिका बाबजुद भूमि विधेयक प्रतिनिधि सभाबाट पास भइसकेको छ । अब यो विधेयक राष्ट्रिय सभाबाट पास भएपछि पुनः प्रतिनिधि सभामा फर्किएपछि सभामुख हुँदै राष्ट्रपति कहाँ पुग्ने छ र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानूनका रुपमा लागु हुने छ ।  विधेक पास भएमा घर जग्गा व्यावसायीले हदबन्दीभन्दा धेरै जग्गा राखेर व्यावसायमार्फत  बिक्री गर्न र त्यसमा बनेका आवास घरलगायतका संरचना बेच्न पाउने छन् । त्यस्तै अव्यवस्थित बसोबासीलाई समेत वर्गीकरण गरेर जग्गा दिने बाटो खुला हुने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस