नवलपरासी– नवलपरासीका स्थानीय तहमध्ये सुस्ता गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा पहिलो भएको छ । सङ्घीय मामिला तथा सामान्य मन्त्रालयले २०८२ भदौ ६ गते प्रकाशित गरेको आर्थिक वर्ष २०८०/०८१ को गुणस्तर अन्तिम नतिजामा सुस्ता गाउँपालिकाले उत्कृष्ट ८७ प्रतिशत अंक ल्याएर पहिलो भएको हो । जिल्लाका सात स्थानीय तहमध्ये पाल्हीनन्दन गाउँपालिकाको भने विवरण उल्लेख छैन । सबैभन्दा कम अंक रामग्राम नगरपालिकाको ७२.५० प्रतिशत रहेको छ ।
विभिन्न १० वटा विषयगत क्षेत्रहरुका शिर्षक तोकेर मूल्याङ्कन हुने गरेको छ । उक्त मूल्याङ्कनको शिर्षक अन्तरगतको सेवा प्रवाहमा सुस्ता र प्रतापपुरको समान १३.५० प्रतिशत अंक रहेको छ । भौतिक पूर्वाधारतर्फ सरावल पहिलो भएको छ ।
लिजाको समग्र नजितामा सुस्तापछि प्रतापपुर गाउँपालिकाले ८५.२५ प्रतिशत अंक ल्याए र दोस्रो भएको छ । ८१.५० अंक ल्याएर सरावल तेस्रो भएको छ । त्यसैगरी सुनवलको ८१ र बर्दघाटको ७९.२५ प्रतशत अंक रहेको छ ।
सेवा प्रवाहतर्फ दोस्रो हुनेमा सरावलको १३ प्रतिशत अंक रहेको छ । सेवा प्रवाहतर्फ बर्दघाटको १२.५०, रामग्रामको १२ र सुनवलको ११ प्रतिशत अंक रहेको छ । भौतिक पूर्वाधारतर्फ दोस्रो हुनेमा प्रतापपुर र सुनवलले समान १० अंक पाएका छन् । त्यसैगरी भौतिक पूर्वाधारतर्फ सुस्ताको ९.५०, बर्दघाटको ९ र रामग्रामको ७ अंक रहेको छ । विपद् व्यवस्थापनतर्फ सुनवल र प्रतापपुरले सामान ७.५० अंक पाएका छन् । दोस्रोमा सुस्ताको ७, सरावलको ६ बर्दघाटको ५.५० र रामग्रामको ३.५० अंक रहेको छ । त्यस्तै न्यायिक सम्पादनतर्फ सरावलबाहेक सबैको समान ७ अंक रहेको छ । सरावलको न्यायिक सम्पादनमा ६.५० प्रतिशत अंक रहेको छ ।
विषयगतक्षेत्र अन्तरगत जम्मा १०० सूचकहरु रहेका छन् । त्यसैका आधारमा मूल्याङ्कन गर्ने गरिएको छ । स्थानीय तहको वर्तमान अवस्था र सुधार गर्नुपर्ने पक्षहरुको लागि आवश्यक रणनीतिक कार्यदिशा तय गर्न यो मूल्याङ्कन गर्ने गरिएको हो । यसले स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धा भावनामा जागृत गराउने उद्देश्य राखेर मन्त्रालयले मूल्याङ्कमार्फत नजिता प्रकाशन गर्ने गरिएको छ ।
-परासीपत्र अनलाइन बाट