मध्यबिन्दुमा ‘जापानिज इन्सेफ्लाइटिस’बाट एक पुरुषको निधन

साउन महिनामा मात्र जिल्लामा चार जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको हो ।

नवलपुर ।पूर्वी नवलपरासीमा लामखुट्टेको टोकाइबाट लाग्ने रोग ‘जापानिज इन्सेफ्लाइटिस’बाट एक पुरुषको मृत्यु भएको छ ।
मध्यबिन्दु नगरपालिका–१ पतवारी निवासी ५२ वर्षीय पुरुषको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो ।

साउन महिनामा मात्र जिल्लामा चार जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको हो । बिरामीमध्ये तीन जना कावासोती नगरपालिकाका छन् । जसमध्ये वडा नं १ की ४४ वर्षीया महिला, वडा नं ३ की ८३ वर्षीया महिला र वडा नं ६ का ५२ वर्षीय पुरुष रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले बताउनुभयो ।

जिल्लामा पछिल्लो वर्ष जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यसको लक्षण देखिएका बिरामीहरूको नमुना सङ्कलन गरी परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको ल्याब टेक्निसियन तिवारीले जानकारी दिनुभयो ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा आर्थिक वर्ष २०७९\८० मा सात जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकामध्ये पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा देखिएको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०८०\८१ मा आठ जनामा सङ्क्रमण भएकामध्ये एक जनाको मृत्यु भएको थियो भने गत आव २०८१\८२ मा दुई जनामा सङ्क्रमण भएकामध्ये दुवै जना उपचारपछि निको भएका थिए ।

जिल्लामा चालु आवको सुरुआतसँगै रोग देखिएपछि स्थानीय तहमार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्न थालिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख शैलेन्द्रकुमार सिंहले बताउनुभयो ।

यस रोगबाट धेरै व्यक्तिहरू गम्भीर बिरामी नहुने गरे पनि केहीको गम्भीर अवस्था सृजना भई दिमागलाई नै असर गरी मृत्यु हुने गरेको प्रमुख सिंहले बताउनुभयो ।

विश्वभर प्रत्येक वर्ष ५० हजारभन्दा बढी जापानिज इन्सेफ्लाइटिसस सङ्क्रमित हुने गरेको तथ्याङ्क छ । जसमध्ये १० देखि १५ हजार सङ्क्रमितको ज्यानसमेत जाने गरेको छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस