शिक्षा विधेयकमा असहमती जनाउदै निजि बिद्यालयको विरोध,आन्दोलनको चेतावनी  

गैर नाफामुलक शब्द हटाईनु पर्ने माग

नवलपरासी

नवलपरासी । सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयकमाथि असहमति जनाउँदै निजी विद्यालयहरूको छाता संगठन प्याब्सन आन्दोलनमा उत्रिएको छ। पश्चिम नवलपरासी जिल्ला भित्रका सातै पालिकामा पालिका प्रमुखलाई भेटेर ज्ञापनपत्र बुझाइएको छ।

बर्दघाटमा समेत नगर प्रमुख शम्भुलाल श्रेष्ठलाई प्याब्सन बर्दघाटका अध्यक्ष हरि पौडेलको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो। सरकारले निजि शैक्षिक सस्थाहरुका मागलाई बेवास्ता गरेको उल्लेख गर्दै पौडेलले प्याब्सनले माग सम्बोधनका लागि ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएपछि साउन २९ गते आज देखि चरणबद्ध आन्दोलन थालिएको पौडेलले बताउनु भयो ।

प्याब्सनका केन्द्रीय सह-कोषाध्यक्ष सन्तोष अधिकारीका अनुसार राज्यले निजी शैक्षिक संस्थाको योगदानको कदर नगरेको र विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा उल्लेख भएका चार विषयमा आपत्ति जनाएको बताउनु भयो । ती मागहरूमा निजी विद्यालयलाई ‘गैरनाफामूलक’ बनाइने वाक्यांश हटाउने, ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाउने, विद्यमान १० प्रतिशत छात्रवृत्ति प्रावधानलाई निरन्तरता दिने, तथा छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम राख्ने समावेश छन्।

आज पालिकाहरुमा ज्ञापन पत्र बुझाएको प्याब्सनले साउन ३० मा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, र जिल्ला समन्वय समितिलाई ज्ञापनपत्र बुझाइनेछ। भदौ १ गते प्रदेश मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयलाई, भदौ २ गते जिल्लास्थित संघीय सांसदलाई, र भदौ ७ गतेसम्मका अन्य दबाब कार्यक्रम सञ्चालन हुनेछन्। उक्त समयभित्र माग पूरा नभए विद्यालय बन्द गर्ने चेतावनी प्याब्सनले दिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस