काठमाडौ ।कक्षा १२ को परीक्षाफल आज सोमबार साँझ सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नका लागि आज साँझ ५ बजे बैठक बस्ने तयारी गरेको छ।
बोर्ड स्रोतका अनुसार आइतबार नै नतिजा प्रकाशनपूर्व अन्तिम परीक्षण (डेमो) गरिएको थियो। “हिजो डेमो गरिएको थियो, आज नतिजा सार्वजनिक गर्ने तयारी छ,” स्रोतले जानकारी दियो।
यसअघि बोर्डले क्यालेन्डरअनुसार साउन १५ भित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको थियो। तर गत चैत २० गतेदेखि सुरू भएको शिक्षक आन्दोलनका कारण यो प्रक्रिया प्रभावित भएको हो।
२९ दिनसम्म चलेको आन्दोलनकै असरले परीक्षा तालिका र मूल्यांकन ढिला भएको बोर्डले जनाएको छ।
शुरुआतमा ११ वैशाखमा परीक्षा सञ्चालन गर्ने तयारी गरिए पनि आन्दोलनका कारण परीक्षा २१ वैशाखदेखि सुरू गरिएको थियो। सो परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी भएका थिए।
अब बोर्डको आज साँझको बैठकपछि नतिजा सार्वजनिक गरिने पक्का भएको छ। विद्यार्थीहरू बोर्डको वेबसाइट तथा एसएमएस मार्फत नतिजा हेर्न सक्नेछन्।