नवलपरासी,पश्चिम्।बर्दघाट नगरपालिकाले वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत ९ जना कर्मचारी सरुवा अर्थात हेरफेर गरेको छ ।कर्मचारी हेरफेर भएपछि सम्बन्धित वडाका वडा अध्यक्षहरुले असन्तुष्टि व्यक्त गरेपछि सरुवा भएका कर्मचारीहरु हाजिर हुन नसकेका हुन ।
प्रमुख प्रसाशकिय अधिकृत प्रकाश खनालले एकैपटक नौ जना कर्मचारीको सरुवा गरेपछि वडा अध्यक्ष हरुले हेरफेर गरिएका ती कर्मचारीहरुलाई हाजिर गर्न बाट रोक लगाएका छन ।आफुहरुलाई कुनै खबर र आधिकारिक सरसल्लाह नगरी कर्मचारी सरुवा गरेको भन्दै उनिहरुलाई हाजिर नगराएको बताईएको छ ।
आधारभूत स्वास्थ्य केन्द्रको ब्यवस्थापन समितीको अध्यक्ष स्वयं वडा अध्यक्ष रहने प्रावधान भएपनी आफुहरुलाई थाहै नदिई एकलौटी रुपमा कर्मचारी हेरफेर गरिएको वडा अध्यक्षहरुको आरोप छ ।स्वास्थ्य केन्द्र सञ्चालनको जिम्मा वडा अध्यक्षहरुलाई रहने भएकाले कुनै छलफल बिना सरुवा गरिएकाले निर्णय अमान्य हुने बर्दघाट नगरपालिका वडा नम्बर ९ का अध्यक्ष चन्द्रकान्त चापागाईंले बताउनु भयो ।”मेरो वडाको कर्मचारी सरुवा हुदा मलाई थाहा हुनु पर्छ कि पर्दैन,थाहा पाउनु पर्ने त होलानि”अध्यक्ष चापागाईंले भन्नु भयो ।
यता बर्दघाट नगरपालिका वडा नम्बर १४ को दाउन्नेदेवी स्वास्थ्य चौकीमा सरुवा भएका बाबुराम तिमल्सिना हाजिर भएका छैनन ।सरुवा प्रक्रिया बाट उनी आफै असन्तुष्ट बनेका छन ।”यो मसान्तको बेला कुनै कमजोरी नहुदा पनि हाम्रो राय नबुझी एकाएक सरुवा गरियो,जहाँ गएपनी काम नै गर्ने हो तर भर्खर हाम्रो स्वास्थ चौकी नयाँ भवनमा सरेकाले थुप्रै जिम्मेवारी छन त्यसैले पनि असहज भएको हो यद्यपि सरुवा भएको ठाउँमा नजाने भन्ने होईन”तिमल्सिनाले भन्नुभयो।उहा स्वास्थ्यका सातौं तहका कर्मचारी हुनुहुन्छ।नगरपालिकाले उनको सट्टामा छैठौं तहका कर्मचारी पठाएको छ ।
नगरपालिकाले सरुवा गर्दा किन हाजिर हुन दिनु भएन भन्ने प्रश्नमा नगर प्रवक्ता बहादुर गाहले भन्नुभयो – हाजिर नभएको कुरा बाहिर आएछ तर स्वास्थ्य केन्द्रको ब्यवस्थापन समितिको अध्यक्ष वडा अध्यक्ष नै हुने हुँदा आफ्नो केन्द्रमा को कर्मचारी आउदै छ भन्ने हामिलाई नै थाहा नभएको कुरा चाहिँ किन बाहिर आएन ।नगरपालिकाले एकलौटी रुपमा निर्णय गरेको वडा अध्यक्ष हरुको आरोप छ ।
यता प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले भने कर्मचारी सरुवा बढुवा हेरफेर कार्यालयको नियमित प्रक्रिया भएको बताउनुभयो ।अस्थायी ,करारमा रहेका ठाउँहरुमा मापदण्ड अनुरुप नै स्थाई कर्मचारी पठाईएको र कार्यालयको आवश्यकता अनुसार कर्मचारी सरुवाको अधिकार नियमत:प्रमुख प्रसाशकियलाई नै हुने खनालले बताउनुभयो ।”करार ईन्चार्ज भएका दुई ठाउँमा ५ बर्षे अवधी पछि शाखाको सल्लाह अनुसार नै मापदण्ड बनाएर स्थाईलाई पठाईएको छ अन्यमा पनि आवश्यकता अनुसार गरिएको हो यो नियमित प्रक्रिया हो”खनालले भन्नू भयो ।
आफुहरुलाई जानकारी बेगर प्रमुख प्रशासकीय अधिकृत,नगर प्रमुख र उपप्रमुख ३ जनाको सल्लाहमा मात्रै सरुवा गरिएको भन्दै ती कर्मचारीहरुलाई हाजिर हुन नदिने अडानमा वडा अध्यक्षहरु रहेका छन ।केही वडा अध्यक्षहरुले भने यसलाई अनावश्यक बखेडाको रुपमा लिएका छन भने असन्तुष्ट वडा अध्यक्षहरुले आधिकारिक रुपमा छलफल नभै निर्णय गर्न नहुने बताउदै आएका छ्न ।
उप प्रमुख रुद्र प्रकाश उपाध्यायले विशेष गरि दुई वटा मापदण्डका आधारमा सकेसम्म स्वास्थ केन्द्रहरुमा थाई कर्मचारी पठाउने र अर्को लामो समय एकै ठाउमा रहेका कर्मचारीलाई न्यायपुर्ण रुपमा सरुवा गर्ने भन्ने उदेश्यले नै सरुवा भएको बताउनुभयो ।”अहिले परिस्थिति खलबलिएको बेलामा वडा अध्यक्षहरुलाई माईनस गर्न यसो गरिएको होकि भन्ने पर्न गएको हो आफुले थाहा नपाउदा त्यो कुरा आउनु स्वभाविक हो तर अन्यायपुर्ण गरिएको छैन”उपप्रमुख उपाध्यायले भन्नुभयो ।यता वडा अध्यक्षहरुले भने मिलेमतोमा एकलौटी रुपमा नै हतारमा सरुवा भएको दावी गर्दै आएका छन ।