नवलपरासी ।पश्चिम नवलपरासीमा सवारी दुर्घटनाको दर बढ्दै गएको छ। गत आर्थिक वर्ष २०८१।०८२ मा जिल्लाभर भएका ३७८ वटा सवारी दुर्घटनामा ४६ जनाको मृत्यु भएको छ भने ६०५ जना घाइते भएका छन्। दुर्घटना र मृत्यु हुनेको सङ्ख्या अघिल्लो आर्थिक वर्ष २०८०।०८१ को तुलनामा दोब्बरभन्दा बढी देखिएको छ।
सबैभन्दा बढी द्विचक्रीय सवारी (मोटरसाइकल र स्कुटर) दुर्घटनामा पर्ने गरेको पाइएको छ। गत वर्ष ३ सय ८२ वटा मोटरसाईकल मात्र दुर्घटना भएको छ भने कारजिप ३५, टेम्पो २१, टंक ट्यांकर २९, बस १८ वटा दुर्घटनामा परेका छन् । मृत्यु हुनेमा ३ बालिका सहित ५ महिला र ३८ जना पुरुष रहेका छन् । आर्थिक वर्ष २०८०।०८१ मा एक सय १५ वटा सवारी दुर्घटना हुदा २० जनाको मृत्यु भएको थियो भने १ सय ६६ जना घाइते भएका थिए ।
पछिल्लो समय सडकको अवस्था, चालकको लापरवाही, माधक पर्दाथ तथा लागुऔषधको सेवन गरी सवारी चलाउने आदि कारणले दुर्घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विरदत्त पन्तले बताउनुभयो । एक वर्षको अवधिमा ट्राफिक प्रहरीले ८ हजार ३ सय २० वटा सवारी कारवाहीबाट ९६ लाख ५९ हजार राजश्व संकलन गरेको छ ।