परासी —पश्चिम नवलपरासीको प्रतापपुरमा हुलाकी सडक निर्माण कार्य अलपत्र परेको भन्दै प्रतापपुर गाउँंपालिकाले आन्दोलनको घोषणा गरेको छ । यसअघि पनि गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसहित पालिका, प्रदेशका जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयले अनशन र धर्ना दिएपनि सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनको घोषणा गरेका हुन् ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यसअघि भएको सहमति अनुसार काम नभएको भन्दै फागुन २६ गते हुलाकी सडक निर्देशनालय कपिलवस्तु घेराउ गर्ने र त्यसपछि स्थानीयसहित काठमाडौं केन्द्रित आन्दोलन गर्ने उल्लेख गरेका छन् । भदौ २७ गते अनशनमा बसेका जनप्रतिनिधि, स्थानीय र राजनीतिक दलका प्रतिनिधिसँग ठेकेदारले असोज महिनाबाट काम सुरु गर्ने सहमति गरेपनि सहमति कार्यान्वयन नभएपछि थप आन्दोलन गर्न बाध्य भएको गाउँपालिका अध्यक्ष यादवले बताउनु भयो।
हुलाकी सडक निर्देशनालय अर्न्तगत गोपीगञ्जदेखि बेलाटारीसम्मको ६ दशमलव ५ किलोमिटर हुलाकी सडक ६ वर्ष हुँदा पनि सम्पन्न भएको छैन । ठेकेदार कम्पनी ब्रजगुरु महालक्ष्मी र हुलाकी सडक निर्देशनालयसँग पटक पटक समन्वय गर्दा पनि काम अगाडि नबढेको भन्दै यहाँका स्थानीयले गुनासो गर्दै आएका छन् । २०७९ सालमा निर्माण सम्पन्न हुनुपर्ने सडक अझै सम्पन्न भएको छैन । जसको कारण स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।