सुस्तामा बलेन बिजुली,निशुल्क घोषणा गरेका मन्त्रीले समेत झुक्याए

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८१ माघ ४, शुक्रबार (२ महिना अघि)
  • १२३ पटक पढिएको

 

नवलपरासी —स्थानीयले मिटर जडानको राजस्व तिर्न नमान्दा नारायणी नदीपारिको सुस्तामा झोलुंगे पुल हुँदै लगिएको विद्युत् प्रसारण लाइन काटिएको छ ।

गत असोज १० गते राष्ट्रपति रामचन्द्र पौडेलले तामझामसाथ सुस्ता जोड्ने झोलुंगे पुल र विद्युत् लाइनको उद्घाटन गरेका थिए । उद्घाटनमा तत्कालीन कार्यवाहक प्रधानमन्त्री रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंह, ऊर्जा तथा जलस्रोत सिँचाइ मन्त्री दीपक खड्का, सांसद विनोद चौधरी र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत थिए ।

उद्घाटनमा बोल्दै सांसद चौधरीले सुस्ताबासीका लागि एक वर्षका लागि निःशुल्क बिजुली उपलब्ध गराउन आग्रह गर्ने भनेपछि लगत्तै मन्त्री खड्काले एक वर्षसम्म न्यूनतम महसुल छूट हुने आश्वासन दिएका थिए ।

‘सुस्तामा पुलमार्फत बिजुली आएको छ । यो महत्त्वपूर्ण पक्ष हो । सांसद चौधरीजीको आग्रहमा एक वर्षसम्म न्यूनतम महसुल छुट दिने प्रतिबद्धता व्यक्त गर्दछु,’ असोज १० गते मन्त्री खड्काले भनेका थिए । रास्ट्रपति नै उपस्थित कार्यक्रममा मन्त्री र सांसदले घोषणा गरेको बिजुलीमा छूट दिने आश्वासन पाएपछि स्थानीय खुसी भए ।

 

तर, राजस्व तिरेर मिटर राख्न नमानेको भन्दै विद्युत् प्राधिकरणले सुस्ता लगिएको लाइन काटेको हो । नेताहरूले बिजुली छूट दिने आश्वासन दिएकाले विद्युत् कार्यालयमा मिटर जडानका लागि स्थानीयले राजस्व रकम दाखिला नगरेको बताए । लामो समयपछि गाउँमा बिजुली पुगेर पनि उपयोग गर्न नपाएको गुनासो लिएर सुस्ता बचाउ अभियानका अभियन्ता मुन्ना खाँ जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन पनि पुगेका थिए ।

सुस्तामा बसोबास गर्ने ३ सय ५० परिवारमध्ये १ सय ८५ को मात्र नागरिकता र जग्गाधनी पुर्जा छ । नागरिकता नभएकालाई विद्युत्को मिटर दिन नमिल्ने भएपछि नागरिकताबिना मिटर जडान गरिदिनुपर्ने उनले माग गरे । ‘गाउँमा बिजुली आयो भनेर खुसी भइयो । तर, नागरिकताको समस्याले आधाभन्दा बढी सुस्ताबासीले मिटर जडान हुन नपाउने भएर बिजुली उपभोग गर्न नमिल्ने अवस्था आयो,’ उनले भने, ‘मिटर जडान नगरेपछि विद्युत् पनि काटिएको छ । यो समस्या समाधानका लागि तत्काल पहल हुनुपर्यो ।’

सुस्तामा १ हजार ५ सय ७१ मिटर लम्बाइको नारायणी नदीमा झोलुंगे पुल निर्माण भएपछि सोहीमार्फत बिजुली पुर्याइएको हो । भारतीय अतिक्रमणको चपेटामा परेको सुस्तामा पुलमार्फत बिजुली पुर्याउँदा खुसी भएका स्थानीय अहिले बिजुली लाइन नै काटिँदा निराश भएका छन् । तीनतर्फबाट नारायणी नदी र एकातर्फ भारतीय भूमिले घेरेको सुस्तामा यसअघि सोलारमार्फत बिजुली बालिँदै आएको थियो । तर, सोलारले बत्तिबाहेक उद्योग तथा अन्य उपकरण संचालन हुन नसक्ने भएपछि सरकारले नारायणीमा निर्माण भएको झोलुंगे पुलमार्फत बिजुली विस्तार गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस