नवलपरासी,पश्चिम
लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले अबको शिक्षालाई सीप र रोजगार सग जोड्नु पर्ने बताउनु भएको छ ।पुरातन शैलिको शिक्षा प्रणालीले शैक्षिक गुणस्तरमा सुधार नहुने उल्लेख गर्दै मन्त्री तिमल्सिनाले संघिय शिक्षा ऎन नआउदा सम्म प्रदेश सराकार समेत अलमलमा परेको बताउनु भयो ।
मन्त्री तिमिल्सिनाले अहिलेको शिक्षाले सैद्धान्तिक बढी र प्रयोगात्मक कम भएको उल्लेख गर्दै शिक्षालाई सीपसंग जोड्नु धारणा राख्नु भयो । “शिक्षा क्षेत्रलाई पर्यटन, कृषि, सीप र रोजगारसँग जोड्नु पर्ने अहिलेको प्रमुख आवस्यकता हो” । मन्त्री तिमिल्सिनाले भन्नु भयो ।
बर्दघाटमा रहेको दाउन्नेदेवी माध्यमिक विद्यालयको ५३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले शिक्षाको गुणस्तर सुधार सबैको दायित्व रहेको उल्लेख गर्नुभयो। “शिक्षा क्षेत्रलाई राज्य र समाजले पर्याप्त महत्त्व दिन सकेको छैन। लुम्बिनी प्रदेशलाई शिक्षाको हव बनाउने ठूलो सम्भावना छ,” मन्त्री तिमिल्सिनाले भन्नुभयो।
नेपालको शिक्षा ऎन २०२८ को नै रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले गर्नु पर्ने धारणा राख्नु भयो । संघीय शिक्षा ऐन परिमार्जन नगरेसम्म प्रदेश सरकारले शैक्षिक क्षेत्रमा प्रभावकारी काम गर्न नसक्ने मन्त्री तिमिल्सिनाको दाबी रहेको छ ।
कार्यक्रममा बोल्दै संविधान सभा सदस्य बिक्रम खनालले विद्यार्थी मैत्री वातावरणमा कक्षा शिक्षण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले सिकाइ प्रभावकारी बनाउन आधुनिक पद्धति र प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। अहिले बिश्व सूचना तथा प्रविधिका कारण एउटा गाउँ भएको उल्लेख गर्दै खनालले बिश्व समुदायसंग प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा मन्त्री तिमिल्सिनाले विद्यालयको नवनिर्मित २ कोटे भवनको उद्द्घाटन समेत गर्नु भएको छ । कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, अतिरिक्त क्रियाकलापमा सहभागी विद्यार्थीहरु, उत्कृष्ट नतिजा दिन सफल शिक्षक लगायतलाई सम्मान गरिएको छ ।कार्यक्रममा लुम्बिनी प्रदेशका बन तथा बाताबरण मन्त्री देवकरण कलवार(सन्तु),प्रदेश सभा सदस्य बिश्वप्रेम पाठक लगायतको उपस्थिति रहेको थियो ।यो विद्यालय २०२९ सालमा स्थापना भएको थियो ।