नारायणगढ बुटवल सडकको काम सुरु गर्न स्थानिय तह र सरोकारवालाको दवाब

नवलपरासी,पश्चिम्

नारायणगढ बुटवल सडक निर्माणको काम पछिल्लो समय बिस्तार हुन नसकेपछि सडक निर्माणको काम सुरु गराउन सडक क्षेत्रमा पर्ने तिन वटा जिल्लाका स्थानिय तहले प्रधानमन्त्रीको ध्यानआर्कषण गराउने भएका छन् ।

यस बिषयमा बर्दघाट नगरपालिकामा सम्बद्ध सरोकारवालाहरुको संयुक्त छलफल भएको हो ।सो सडक खण्ड अन्तर्गत पर्ने तिनवटा पालिका र जिल्ला समन्वय समितीको पहलमा सडक निर्माण सुचारुका लागि ध्यानाकर्षण गराउने निर्णय भएको बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति नवलपरासीको संयोजनमा सडक क्षेत्रमा पर्ने रुपन्देहि, नवलपरासी पश्चिम र पुर्वका जनप्रतिनिधि बिच पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा भएको छलफलमा ठेकेदारले काम सुरु नगरेकाले प्रधानमन्त्री सहित संघिय सरकारका निकायको ध्यानआर्कषण गराउदै समयमै काम सक्ने वातावरण निर्माण गर्न दबाब दिने निर्णय गरिएको हो ।

बैठकले प्रधानमन्त्री केपि शर्मा ओलीलाई यहि कात्र्तिक २९ गते भेटेर ध्यानआर्कषण गराउदै सडकको काम सुचारु गराउने विषयमा छलफल गर्ने निर्णय पनि गरेको जिल्ला समन्वय समिति प्रमुख भगौती यादवले जानकारी दिनुभयो ।

जिसस नवलपरासीका प्रमुख भगौती यादवको अध्यक्षतामा भएको छलफलमा सडक आयोजनाको पश्चिम खण्डका आयोजना प्रमुख शशांक मिश्रले ठेकेदारले आर्थिक अभावका कारण काम गर्न ढिलाई गरेको बताउनुभयो । काममा ढिलाई गरेको भन्दै नोटिस टु-करेक्ट पठाएर परामर्शदाता कम्पनीले ठेकेदार कम्पनी चाईना स्टेट कन्स्ट्रक्सनलाई सचेत बनाईसकेको आयोजना प्रमुख मिश्रले बताउनुभयो ।

ठेकेदारलाई ठेक्का तोड्नुु अगाडीको प्रक्रियागत रुपमा दिनुपर्ने अन्तिम चेतावनी स्वरुप एनटिसि जारी भईसकेको बताउदै मिश्रले उक्त समयवधि भित्र तोकेअनुरुप काम नभए ठेक्का तोड्नुपर्ने बताउनुभयो । दुई वटा लक्ष्य दिएर अन्तिम चेतावनी दिईएको र उक्त जिम्मेवारी अनुरुपको काम पुरा नभए ठेक्का तोडिने आयोजनाले जनाएको छ ।

परामर्शदाता कम्पनीले चाईना स्टेटलाई आगामी मंसिर २५ गते सम्म सडकको एका तर्फ ७० प्रतिशत कालोपत्र भएको हुनुपर्ने र दोस्रो शर्तमा मार्च मसान्त अर्थात चैत्र १७ गते भित्र नारायणगढ देखि बुटवल सम्म सडकको एकातर्फ सबै कालोपत्र भएको हुनुपर्ने भनिएको छ । ठेक्का तोड्ने चेतावनी पनि ठेकेदारले यसै हप्ता बाट पश्चिम खण्डमा काम सुरु गर्ने हिजो भएको छलफलमा प्रतिवद्धता जनाएको आयोजना पश्चिम खण्डका प्रमुख मिश्रले आज आयोजित छलफलमा जानकारी दिनुभयो ।

ठेकेदार चाईना स्टेटले बजेट अभावका कारण काम गर्न नसकेको बताउदै आएको छ । काम छाड्ने स्थीतीमा पुगेपनि पछिल्लो समय काम प्रतिवद्धताका साथ ठेकेदार कम्पनी फर्किएको बताईएको छ । छलफलका क्रममा बुटवल उपमहनागरपालिकाका प्रमुख खेलराज पाण्डेले काम नगर्ने भए ठेक्का तोड्नुपर्ने बताउनुभयो ।

यहि ठेकेदारलाई कुर्दा लामो समयसम्म सास्ती खेप्नुपर्ने अवस्था आउन सक्ने भन्दै उहाँले ठेक्का तोडेर नयाँ प्रक्रियामा जानुपर्नेमा जोड दिनुभयो । बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले सडकका कारण जनप्रतिनिधिहरुले गाली खानुपरेको भन्दै अब जसरी पनि समयमै सडक निर्माण सम्पन्न गर्न दबाब सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।

सो क्रममा जिल्ला समन्वय समिति रुपन्देहिका प्रमुख उमाकान्त चापागाई, जिसस पुर्वि नवलपरासी प्रमुख बाबुराम विश्वकर्मा, देवदह नगरपालिकाका प्रमुख धुव्रप्रसाद खरेल, देवचुली नगरपालिकाका प्रमुख हरि प्रसाद न्यौपाने, विनय त्रिवेणी गाँउपालिकाका अध्यक्ष घनश्याम गिरी, सरावल गाँउपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी , बुटवल उपमाहानगरका उपप्रमुख सावित्रादेवी अर्याल, सुनवल नगरपालिकाका उपप्रमुख सुर्यप्रसाद दुवे, कावासोती नगरपालिकाका उपप्रमुख फुलकुमारी थनेत लगायतले बोल्दै सडक निर्माण तत्काल सम्पन्न गर्न दबाब सृजना गर्नुपर्ने बताउनुभयो ।

निर्माण कार्य अलपत्र जस्तै बन्दा आम नागरिकले निकै सास्ती खेप्नु परेको छ भने सडकका कारण सबै क्षेत्र मा निकै ठूलो प्रभाव परेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस