कविता:बदलिएको छ परिवेश

  • hamroaakha
  • / कविता /
  • २०८१ आश्विन २१, सोमबार (५ महिना अघि)
  • २१५ पटक पढिएको

आँखामा तिरमिर तिरमिर विगतका चित्रहरू,
आज टिलपिल टिलपिल गर्दैछन् सम्झनाभरि,

हिजो मान्छेहरु नअट्ने घरका पिँढीमा,
आज पालीभरी माकुराका जालो मात्र देखिन्छन्,

हिजो बिहे जमघट र मेलामा गाउँ ढाक्ने मान्छेहरु,
आज मलामी पर्दा भेटिदैनन्,
उजाड उजाड छन् घरहरु,
उजाड उजाड छन् बस्तीहरु,
खंडहर छ्न बा,हजुरबा बस्ने चौकाहरु पनी

मान्छे हराएको गाउँहरुमा
बाँदर, बँदेल, दुम्सी र नीलगाईहरु बस्ति पसेका छन्,
धान झुल्ने गैह्रीखेत,
बगर बनेको छ,काँस पलाएको छ
कोदो फुल्ने बारीमा बनमारा फुलेको छ,
खै कहाँ छन् खरबारी र मकैबारी ?
फल्नै नपाएका निष्पट बाँझा तोरीबारी,
श्रमिकको पर्खाइमा छन्,शहरलाई गिज्याईरहेछ्न ।

मुजुरा, मादल अनि डम्फुका धुनहरूले
खोजिरहेछन् पुरानै सिपालु,लयालु हातहरू,
देउसी, भैलो, झ्याउरेका भाकाहरुले
पर्खिरहेछन् रैथाने कला र गलाहरू,
सुनिन छोडे झ्याउँकिरीका आवाजहरु

छैन काका काकी सानीमाका मृदुल माया,
टाढिएका छन् नाता र सम्बन्धहरू,
भिड भित्रै पनि एक्लै एक्ला छन मान्छेहरू,
एउटै घरभित्र सँगै भएर पनि
पतिले पत्नीलाई शुभकामना दिन्छ फेसबुकको भित्तामा,
हिजो मन मिलाउथे मान्छे आज बोली मिलाउँछ्न

बिरानो भएका छन्
आफ्नै बारीमा फल्ने मौलिक अनाजहरु
मःमः,चाउमिन र पिजाले आधुनिकता भित्र्याएको घर भित्र
पाँच बीस बाच्दा पनि रोग नजान्ने
हिजोको मान्छे
आज डेढ बिस नकट्दै लिन थाल्छ
दीर्घ रोगको ओखति

बदलिएको छ परिवेश
बदलिएको छ मान्छे,निर्जिव जस्तै मान्छे,मेसिन जस्तै मान्छे

अब के बदलिनु पर्ने होला ?
यो सब बदलिएको बदलेर,
उहि पुरानो गाँउ बन्न,
उहि पुरानो मान्छे बन्न,
उहि पुरानो सम्बन्ध बन्न ।
उहि पुरानो स्पन्धन बन्न

 

(प्रकाश खनाल नेपाल सरकारको उपसचिव हुनुहुन्छ ।साहित्य क्षेत्रमा पनि उहाँको रुचि सगै लेखन पनि रहने गरेको छ)

ताजा अपडेट

खोजी गर्नुहोस