नवलपरासीमा कुष्ठरोगी बढ्दै,बालबालिकामा पनि संक्रमण

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ५, शनिबार (६ महिना अघि)
  • १२२ पटक पढिएको

 

पश्चिम नवलपरासीमा कुष्ठरोगीको संख्या बढ्दै गएको छ । प्रर्याप्त खोजपड्तालका कार्यक्रम नहुदा समेत जिल्लामा गत आर्थिक वर्ष २०८०/०८१ को एक वर्षको अवधिमा ६८ जना नयाँ कुष्ठरोगी भेटिएका छन् ।

जसमा ५ जना १४ वर्षमुनिका बालबालिका रहेका छन् । बालबालिकामा समेत कुष्ठरोग बढ्दै जानु चिन्ताको विषय भएको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत बजरंगी चौधरीले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा ७० जना कुष्ठरोगी भेटिएका थिए जसमा एक जना मात्र बालबालिका थिए तर गत आर्थिक वर्षमा भने कुष्ठरोगी बालबालिकाको संख्यामा पनि वृद्धि भएको छ ।

अहिले ८१ जनाले नियमित औषधि सेवन गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कुष्ठरोग लागेपनी झारफुकमा विश्वास गर्दा धेरैले बिचमै औषधि सेवन गर्न छाड्ने गरेकाले यो रोग जिल्लामै चुनौतिको रुपमा खडा भएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

कुष्ठरोग पहिचानका लागि स्थानीय तहबाट प्रभावकारी रूपमा अझै पनि काम हुन नसकेको सरोकारवालाहरूले बताएका छन् । अहिले रोगीको खोजि र उपचारको दायरामा ल्याउन प्रभावकारी कार्यक्रम बनाएर स्थानीय तहले अभियानको रूपमा काम गर्नुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले बताउनुभयोे ।

कुष्ठरोग भएको थाहा पाउँदा पाउँदै पनि उपचारमा नआउनेको संख्या धेरै भएकाले पालिकास्तरमा जनचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिईएको छ ।

कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्नगर्छ । यो रोगले खास गरेर छाला, नसामा असर गर्छ ।

यो रोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने हुन्छ र बिस्तारै यस रोगले मांसपेशी कमजोर बनाइदिन्छ ।

कुष्ठरोगको बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वास–प्रश्वासको माध्यमबाट यो रोग सर्न सक्ने विज्ञहरुको भनाइ छ ।

लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य कार्यकर्तालाई देखाइ बेलैमा नियमित उपचार गराएमा र नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरूपले निको हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०१० मा नै नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस