नवलपरासी । नवलपरासीका किसानहरूले भारतीय धान आयात रोक्न र सरकारद्वारा तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन्।
नेपालमा धान मुख्य बाली भएको र यसले कृषि आत्मनिर्भरता तथा कुल राष्ट्रिय उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै किसानहरूले हालको अवस्थाले किसानको जीवनमा गम्भीर असर पारेको बताएका छन्। मागपत्रमा भनिएको छ, “भारतबाट अनियमित रूपमा भित्रिने धानका कारण किसानको धानको मूल्य खस्किँदै गएको छ र उत्पादन लागत समेत नउठ्ने अवस्था आएको छ।”
चालु आर्थिक वर्ष २०८२/८३ मा नेपाल सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ र मध्यम धानको मूल्य ३ हजार ६ सय २६ रुपैयाँ तोकेको भए पनि बजारमा व्यापारीहरूले त्यसभन्दा निकै कम मूल्यमा धान खरिद गरिरहेको किसानहरूको गुनासो छ।५ दिन भित्र उचित मुल्यमा खरिद बिक्रिको बाताबरण बनाउन उनिहरुले माग गरेका छ्न ।
किसानहरूले धानको उचित मूल्य सुनिश्चित गर्न, आयात रोक्न र धान खरिदका लागि आवश्यक संयन्त्र तत्काल सञ्चालन गर्न स्थानीय प्रशासनमार्फत संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।
ज्ञापन पत्रमा भनिएको छ “यदि सरकारले किसानको आवाजलाई बेवास्ता गर्यो भने किसानहरू आन्दोलनमा उत्रिन बाध्य हुनेछन्।”
सरावल गाउँपालिका अध्यक्ष सुखाडी चौधरी,बर्दघाट नगरका वडाअध्यक्षहरु ध्रुव थारु,फरेन्द्र चौधरी,नरबहादुर चौधरी,रोहित थारु लगायतका जनप्रतिनिधि एवं किसान अगुवाहरुले ज्ञापनपत्र बुझाएका हुन ।उनिहरुले बर्दघाट नगरपालिकामा समेत ध्यानाकर्षण गराएका छ्न ।
मागपत्रमा विभिन्न किसान संघ, सहकारी, र स्थानीय कृषकहरूको हस्ताक्षर रहेका छन्। किसानहरूले उत्पादनमा भएको लगानी, पसिनाको मूल्य र आत्मनिर्भरता कायम राख्न सरकारले चासो दिनुपर्ने आग्रह गरेका छन्।