भारतीय केरा सदाबहार,नेपाली किसान हाहाकार,सधैं बेखबर सरकार

भारतीय केरा बोकेका गाडी ठाउँको ठाउँ नियन्त्रणमा लिईने किसानको तयारी

नवलपरासी,पश्चिम् । नवलपरासी पश्चिमका केरा किसानहरूले भारतीय केरा आयात तत्काल रोक्न सरकारसँग माग गरेका छन् । यस क्षेत्रमा हजारौँ किसानहरू वर्षौंदेखि व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् । तर पछिल्लो समय भारतबाट अत्यधिक मात्रामा केरा आयात भएपछि किसानहरू मारमा परेका हुन् ।

नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लक्खु प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा भनेका छन “स्थानीय उत्पादनलाई बजारमा माग धान्ने क्षमता हुँदाहुँदै भारतबाट निरन्तर केरा आयात भएकाले किसानहरू घाटामा परेका छन् । सरकार मौन बसेमा बाध्य भएर आन्दोलनमा उत्रनुपर्ने हुन्छ ।”

संघले यही असोज ६ गते कृषि ज्ञान केन्द्रमार्फत मन्त्रालयलाई समस्याबारे जानकारी दिँदा पनि कुनै कदम चालिएको छैन भन्दै आक्रोश व्यक्त गरेको छ । किसानहरूले समस्या समाधान नगरेसम्म चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउदा समेत सुनुवाई नभएकाले बाध्यात्मक रुपमा आन्दोलन गर्नु पर्ने अवस्था आएको अध्यक्ष यादवको भनाई छ ।

संघका अनुसार नवलपरासीमा उत्पादित केराले मात्र स्थानीय माग धान्न सक्ने अवस्था भए पनि भारतीय केरा भित्रिनु अन्यायपूर्ण भएको भन्दै यसबारे तुरुन्त निर्णय गर्न सरकारसँग आग्रह गरिएको छ ।भारतीय मोटरसाइकल र अन्य साधनमा आउने केरा नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि पठाईने समेत विज्ञप्तिमा उल्लेख छ ।

दर्जनको ३० रुपैयाँ भन्दा कम मूल्यमा विक्री गर्दा किसानको लागत नै नउठ्ने भए पनि अहिले किसानहरु १० रुपैयाँ देखी १८ रुपैयाँमा विक्रि गर्न बाध्य छ्न ।”आजको दिन हामिले राज्यले के पहल गर्छ हेर्छौ,भोलि बाट भारतिय केरा बोक्ने गाडीलाई हामी नियन्त्रणमा लिन्छौ,हामी आक्रामक रुपले जे पनि गर्न बाध्य हुन्छौं “अध्यक्ष यादवले भने ।

संघले आन्दोलनमा आवश्यक परे सम्पूर्ण किसान, राजनीतिक दल, पत्रकार महासंघ, नागरिक समाज र सरोकारवालाहरूलाई साथ दिन आह्वान समेत गरेको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस