तोडफोड र आगजनीमा पक्राउ परेकालाई प्रमाणका आधारमा मुद्धा चलाउने तयारी

पक्राउ पर्नेमा प्रतापपुर र सुस्ता गाउँपालिका क्षेत्रबाट ९ र बर्दघाट क्षेत्रबाट ७ जना रहेको प्रहरीले जनाएको छ ।

नवलपरासी– नवलपरासीमा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेका अधिकांश व्यक्ति जेनजी उमेर समुहभन्दा बढीको रहेको बताइएको छ ।

जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते जिल्लाका विभिन्न ठाउँका सरकारी, निजी, पार्टी कार्यालय र संघ संस्थाहरुका संरचना र सम्पत्तिमाथि तोडफोड र आगजनी भएको थियो । सोही आरोपमा प्रहरीले अहिलेसम्म १६ जनालाई पक्राउ गरेको छ । त्यसरी पक्राउ पर्नेमा प्रतापपुर र सुस्ता गाउँपालिका क्षेत्रबाट ९ र बर्दघाट क्षेत्रबाट ७ जना रहेको प्रहरीले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढी त्यस क्षेत्रमा रहेका जनप्रतिनिधि, राजनीतिक दलका नेता, पूर्वजनप्रतिनिधिका घर र सम्पत्तिमाथि आगजनी र तोडफोड गरी ध्वस्त बनाइएको छ । प्रहरीले अहिले पक्राउ गरेका व्यक्तिहरु सबै निजी सम्पत्तिमाथि आगजनी र तोडफोड गर्ने रहेको जनाएको छ ।

आगजनी र तोडफोडमा संलग्नहरुको भिडियो फुटेजलगायतका प्रमाण उपलब्ध गराउन जिल्ला सुरक्षा समितिले आग्रह गरेको थियो । जसअनुसार प्रमाणसहित आएका व्यक्तिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो । ‘पक्राउ परेका अधिकांश जेनजी उमेर समुहभन्दा बढीका छन् । उनीहरुलाई आगजनी र तोडफोडमा प्रत्यक्ष संलग्न भएको प्रमाणका आधारमा पक्राउ गरिएको हो । साेहीअनुसार मुद्दा चलाउने तयारी गरिएकाे छ ।

अपराधको प्रकृतिअनुसार कारबाही प्रकृया अघि बढ्छ । ’ एसपी श्रेष्ठले भन्नुभयो । पक्राउ परेकाहरुलाई कारबाही गर्ने क्रममा जिल्लास्थित राजनीतिक दलहरुले कुनै दबाब नदिने सामुहिक प्रतिबद्धता जनाएको र सोहीअनुसार सहयोग भइरहेको पनि एसपी श्रेष्ठको भनाई छ । १३ वर्ष पूरा भइ २८ वर्षसम्मको उमेर समूह जेनजी पुस्तामा पर्छन् ।

-परासी पत्र अनलाइन बाट

ताजा अपडेट

खोजी गर्नुहोस