बर्दघाटका हाट बजारमा अखाद्य रङ मिसिएको मासको दाल

सिमाबाट खुलेयाम आएका अखाद्य वस्तु नेपाली बजारमा

नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीको बर्दघाट नगर क्षेत्रका बजारहरुमा अखाद्य मासको दाल भेटिएको छ ।बर्दघाट नगरपालिकाले बर्दघाटका विभिन्न वडाहरुमा लाग्ने हाटबजारको अनुगमनका क्रममा यस्तो दाल फेला परेको हो ।

बजारमा मासको दालमा अखाद्य कालो रङ मिसिएको गुनासो आएपछि नगरपालिकाले स्थलगत अनुगमन गर्दा मासको दाल रङयुक्त भेटिएको बर्दघाटका नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले जानकारी दिनुभयो ।

भारतीय बजारबाट सजिलो गरी खुलेयाम भित्रने यस्ता खाद्य बस्तुले आम उपभोक्ताको स्वास्थ्यमाथी गम्भीर असर पर्न सक्ने देखिएको छ ।झट्ट हेर्दा राम्रो देखिने सजिलै पहिल्याउन नसकिने तर घरमा लगेर पखाल्दा दालबाट अत्याधिक कालो रङ जाने गरेको उपभोक्ताहरुको गुनासो छ ।

“पानीमा भिजाउदा कालो रङ देखिएको छ,दाल अलि बढी चिप्लो पनि छ,अर्को कुरा दालमा अरु चिज पनि मिसावट होकि भनेजस्तो पनि छ”उपप्रमुख रुद्र प्रकाश उपाध्यायले भन्नुभयो ।

गत सोमबार बर्दघाट १ निवासी लक्ष्मण थापा मगरले दाल किनेर लगेपछि दालमा अनौठो रङ देखिएको बताउनुभयो ।”दाल किनेर लगे दाल पकाई सकेपछि त हरियो खालको घोल जस्तो अनौठो रङ देखियो,पछि बाकी दाल धोएर हेर्दा कालो रङ गयो,बोक्रा नभएको दानामा पनि रङले कालो देखिएको रहेछ,पानीले पखाली सकेपछि त सेतो भयो”मगरले भन्नुभयो ।

हाटबजारमा देखिएको दाललाई नगरपालिकाको अनुगमन समितीले जफत गरी नष्ट गरेको छ ।त्यस्ता दाल बिक्रेताहरुलाई आईन्दा बिक्रि बितरण नगर्न सचेत गराईएको छ ।हाटबजार मात्रै होईन अन्य बजार क्षेत्रमा पनी अनुगमनलाई निरन्तरता दिईने उपप्रमुख एवम् अनुगमन समिती संयोजक रुद्र प्रकाश उपाध्यायले बताउनुभयो ।कहि कतै अखाद्य बस्तु भेटिए उपभोक्ता स्वयंले समेत जानकारी गराउन उहाले आग्रह गर्नुभयो ।

खुला रुपमा भारतीय बजार बाट सहजै रुपमा भित्रने यस्ता अन्य खाद्य वस्तुले उपभोक्ताको स्वास्थ्य माथी नाङ्गो खेलबाड भएपनी सम्बन्धित निकायले ठोस कदम भने चालेको देखिदैन ।

 

ताजा अपडेट

खोजी गर्नुहोस