नवलपरासी,पश्चिम्
नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजनालाई निर्माण सामग्री प्रदान गरेका व्यवसायीले लामो समयदेखि भुक्तानी नपाएको भन्दै आन्दोलित भएका छन् ।
आयोजनाको पश्चिम खण्डमा रहेको कार्यालयमा प्लेकार्डसहित तत्काल बक्यौता रकम भुक्तानीको माग गर्दै व्यवसायी मंगलबारदेखि आन्दोलित भएका हुन् ।
ढुंगा, गिट्टी र बालुवाका १३ वटा सप्लायर्स र क्रसर व्यवसायीको ८० करोड, पेटी ठेकेदारको १५ करोड र ढुवानीका लागि प्रयोग भएका सवारी साधनको ६ करोड गरेर १ अर्बभन्दा बढी रकम भुक्तानी पाउन बाँकी रहेको नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका उपाध्यक्ष रामु अधिकारीले बताए ।
चैत महिनादेखि ठेकेदार कम्पनी चाइना स्टेटले भुक्तानी नदिंदा व्यवसायी मर्कामा परेको उनले सुनाए । व्यवसायीले १५ दिनभित्र भुक्तानी नदिएमा थप संघर्षको कार्यक्रम अगाडि बढाउने चेतावनी दिएका छन् । भुक्तानीका लागि पटक–पटक कार्यालयमा धाउँदा पनि बेवास्ता गरिएको व्यवसायीको गुनासो छ ।
व्यवसायीलाई भुक्तानी रकम नदिएको ठेकेदारले वर्षाको कारण देखाउँदै रोकिएको नारायणगढ–बुटवल सडक खण्डको काम अझै सुरु गरेका छैनन् । तेस्रो पटक थप भएको म्याद तीन महिना सकिंदा पनि काम सुरु नहुँदा यो खण्डको यात्रा थप कष्टकर बन्दै गएको छ ।
सम्झौता अनुसार काम भएको भए २०७५ चैतबाट सुरु भएर २०७९ साउनमा निर्माण सम्पन्न हुने थियो । तर, कोरोना, निर्माण सामग्रीको अभावजस्ता कारण देखाएर ठेकेदारले पर्याप्त जनशक्ति परिचालन नगर्दा सडक निर्माण अहिले पनि अलपत्र छ । पहिलो पटक २०८० साउन ११ गतेसम्मका लागि म्याद थप भएको थियो ।
पहिलो पटक थप भएको म्यादमा पनि काम सम्पन्न नभएपछि दोस्रो पटकका लागि २०८१ साउन ८ गते सम्म म्याद थप गरेको थियो । तर दोस्रो पटक पनि काम सम्पन्न नभएपछि तेस्रो पटकका लागि २०८२ साउन ८ गतेसम्मका लागि म्याद थप भएको छ ।