नवलपरासी,पश्चिम्। नवलपरासीको प्रतापपुर गाउँपालिकामा झन्डै १३ करोडको लागतमा प्रशासनिक र प्रसुति (वर्थिङ्ग)भवन निर्माण भएका छन् । गाउँपालिकाले धार्मिक कार्यक्रमको आयोजना गरी ‘गृह प्रवेश’ गरेसँगै शुक्रबारदेखि यि दुबै नयाँ भवनबाट सेवा सुरु गरिएको छ ।
संघीय सरकारको ५ करोड ४० लाख र गाउँपालिकाको ६ करोड ९ लाख गरी कुल ११ करोड ४९ लाखमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण गरिएको गाउँपालिकाका इन्जिनियर आनन्द यादवले जानकारी दिनुभयो । चार तले भवनमा कार्यपालिका बैठक कक्ष, सभा कक्षसहित ३४ कोठा छन् । भवन नहुँदा गाउँपालिका दुई वटा घर भाडामा लिएर सञ्चालन हुँदै आएको थियो । भवन निर्माणपछि गाउँपालिकाको आर्थिक व्ययभार घट्नुका साथै सेवा विस्तारमा थप सहज पुर्याएको अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो । दुई वर्षअघि निर्माण सुरु गरिएको भवनको काम गत जेठमा सकिएको हो ।
त्यसैगरी संघीय सरकारको ३८ लाख, प्रदेश सरकारको २५ लाख ६९ हजार र गाउँपालिकाको ७० लाख गरी कुल १ करोड ३३ लाख ६९ हजारमा प्रसुति भवन निर्माण गरिएको छ । यो भवन दुई तलाको छ । प्रसुति भवनमा भिडियो एक्सरेसमेत रहेको छ । डेढ वर्षअघि निर्माण सुरु गरिएको भवनको काम गत फागुनमा सकिएको हो । गाउँपालिकामा योसँगै चार स्थानबाट प्रसुति सेवा प्रदान गरिदैं आइएको छ ।