अफताब आलमलाई सफाई दिने दुवै न्यायाधीशमाथि कालोमोसो प्रहार

  • hamroaakha
  • / समाचार /
  • २०८२ जेष्ठ २९, बिहिबार (४ दिन अघि)
  • ७९ पटक पढिएको

वीरगन्ज : इँटा भट्टामा मान्छेलाई जिउँदै जलाएर हत्या गरेको कसूरमा जन्मकैदको सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमलाई सफाई दिने उच्च अदालत अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि कालोमोसो प्रहार गरिएको छ।

बिहीबार दिउँसो अदालतको इजलासभित्रै न्यायाधीश थारु र महर्जनमाथि आफूलाई नेकपा बहुमतको कार्यकर्ता बताउने व्यक्तिहरूले कालोमोसो छ्यापेका हुन्। न्यायाधीशद्वय थारु र महर्जनमाथि कालोमोसो प्रहार गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

न्यायाधीशद्वयमा कालोमोसो प्रहार गर्ने नेकपा बहुमतका कार्यकर्ताहरू गर्भु महतो, पदम बहादुर मगर र अविनश भन्ने किशोर कुवँरलाई अदालत परिसरबाटै नियन्त्रणमा लिइएको र उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

लम्सालका अनुसार बिहीबार अपरान्ह करिब ४ बजेतिर अदालतको इजलासभित्र न्यायाधीशद्वय थारु र महर्जन बसिरहेका बेला महतो, मगर र कुँवर इजलासभित्र छिरेर कालोमोसो प्रहार गरेका थिए। नेपाल कम्युनिष्ट पार्टी बहुमत जिन्दावाद, जनताको करबाट तलबभत्ता खाने तर जनताकै विरुद्धमा फैसला गर्ने न्यायाधीश चाहिँदैन जस्ता नारा लगाउँदै उनीहरूले कुर्सीमा बसिरहेका न्यायाधीशद्वय थारु र महर्जनमाथि कालोमोसो छ्यापेका थिए।

इँटा भट्टामा हालेर मान्छेलाई जिउँदै जलाएको कसुरमा ६ वर्षदेखि जेलमा रहेका आलमलाई उच्च अदालत अस्थायी इजलास वीरगन्जले यही जेठ १४ गते सफाइ दिएको थियो। रौतहट जिल्ला अदालतको फैसलालाई उल्ट्याउँदै उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले जेठ १४ गते आलमलाई सफाइ दिएको हो। त्यही दिन उनी नक्खु कारागारबाट रिहा समेत भएका थिए।

पहिलो संविधानसभाको निर्वाचनको बेला चुनावलाई प्रभावित पार्न २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका व्यक्तिहरूलाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको कसुरमा दोषी ठहर गर्दै रौतहट जिल्ला अदालतले २०८१ वैशाख १३ गते आलमसहित चार जनालाई जन्ममकैदको सजाय सुनाएको थियो। त्यसबेला रौतहट जिल्ला अदालतले आलमसँगै उनका भाइ ममताब आलम, शेख सेराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस