नवलपरासी। पूर्व सूचना विना पटक पटक लाइन काटिने र अनियमित आपुर्तिले उद्योगी व्यवसायी र आम नागरिकहरू मर्कामा परेको भन्दै उद्योग ब्यापार सङ्घ बर्दघाटले नेपाल विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
आइतबार बर्दघाट ४ स्थित महाशिवरात्रि इलेक्ट्रोनिक्स पसलमा विद्युत सर्टका कारण आगलागी हुँदा ठुलो मात्रामा क्षति भएपछि सङ्घले अनियमित विद्युत कटौती रोक्न र अनियमित भोल्टेज सप्लाइ नियन्त्रण गर्न माग गर्दै वितरण केन्द्र प्रमुख इन्जिनियर प्रशान्त कुमार झा लाई पत्र बुझाएको हो ।
सङ्घका अध्यक्ष राजु न्यौपानेको नेतृत्वमा बर्दघाट जेजीजका अध्यक्ष मोहन सापकोटा, बर्दघाट नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा लगायत उद्योग ब्यापार सङ्घका पदाधिकारी र व्यवसायीहरूको संयुक्त टोली वितरण केन्द्रमा पुगेर ध्यानाकर्षण पत्र बुझाई सामूहिक सम्वाद गरी समस्या समाधानका लागि पहल गरेको हो ।
ध्यानाकर्षण पत्रमा विद्युत प्राधिकरणको लापरबाहीका कारण उद्योगी व्यवसायी र आम नागरिकले भोग्नुपरेको समस्या प्रति गम्भिर हुनका लागि अनुरोध गरिएको छ । आईतबारको घटनाले केवल आर्थिक क्षति मात्र नभई जुनसुकै बेला गम्भिर दुर्घटना हुन सक्ने र मानवीय सुरक्षामा समेत गम्भिर खतरा उत्पन गराएको उल्लेख छ ।
समस्या समाधानमा वितरण केन्द्रले गम्भीरता नदेखाउनु दुःखद रहेको उल्लेख गर्दै तत्काल समस्याहरू समाधान नगरिए उद्योगी, ब्यबसायी र आम नागरिक विद्युत प्राधिकरणको गैरजिम्मेवारीपन प्रति आन्दोलनमा उत्रिने समेत पत्रमार्फत केन्द्रलाई अवगत गराइएको छ ।
पत्र बुझ्दै वितरण केन्द्र प्रमुख झा ले अघोषित लोडसेडिङ नरहेको बताउनुभयो । झा ले जोखिम न्यूनिकरणका लागि बजार क्षेत्रमा घर नजिकै कतै नाङ्गा तारहरू रहे त्यसलाई कबर गर्नका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
उद्योग ब्यापार सङ्घका अध्यक्ष राजु न्यौपानेले उद्योगी व्यवसायीका समस्यामा सदैव संस्था साथमा रहेको बताउँदै समस्या समाधानका लागि निरन्तर लागिरहने बताउनुभयो । वितरण केन्द्रका प्रमुख सँग सौहार्द्रपूर्ण छलफल भएको र समस्या समाधान हुनेमा आशावादी रहेको न्यौपानेको भनाई छ ।