बिपद ब्यवस्थापनमा पर्याप्त जनशक्ति र श्रोत साधनको कमि 

नवलपरासी,पश्चिम्
बिपद ब्यवस्थापनमा पर्याप्त जनशक्ति र श्रोत साधनको कमिले उद्दार कार्यमा कठिनाई हुने गरेको सरोकारवालाहरुले बताएका छन ।विपद् व्यवस्थापन सुदृढ गर्ने उद्देश्यसहित बर्दघाट नगरपालिकाको आयोजनामा जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिबीच अन्तरक्रिया तथा छलफल कार्यक्रममा ब्यवस्थापनमा चुनौती देखिएको भन्दै बिपद समितिलाई श्रोत साधन युक्त बनाईनु पर्ने औल्याईएको हो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नं. २६ गण हेडक्वार्टर बेलासपुरका प्रहरी नायब उपरीक्षक बिष्णु अधिकारीले विपद्का प्रकार, त्यसका असर, क्षति न्यूनीकरणका उपाय र समन्वयात्मक प्रयासका विषयमा प्रकाश पार्नुभयो। विपद्को समयमा उत्पन्न हुने चुनौती र त्यसलाई व्यवस्थापन गर्नुपर्ने उपायबारे समेत उहाँले जानकारी दिनुभयो।
पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज बस्यालले भौतिक संरचनाका कारण जोखिम बढेको भन्दै विपद्को समयमा आफू बाँच्ने र अरुलाई बचाउने क्षमताको विकास गर्नुपर्नेमा जोड दिनुभयो।
बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले नगरपालिकाले विपद् कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको बताउँदै विपद् व्यवस्थापन कोषमा ५० लाख रुपैयाँ बजेट छुट्याइएको जानकारी बताउनु भयो।
 नगरभित्र दमकल सञ्चालन, नगर प्रहरी परिचालन र स्थानीय समितिको नियमित बैठकको अभ्यास भइरहेको बताउनुभयो।
जिल्ला समन्वय समिति प्रमुख भगौती प्रसाद यादवले सातवटै पालिकाले रणनीति बनाएर अन्तरपालिका समन्वयमार्फत असल अभ्यास आदानप्रदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउँदै, नगरले सञ्चालन गरेको एम्बुलेन्स सेवा छिमेकी जिल्लासम्म पुगेको उल्लेख गर्नुभयो।
कार्यक्रममा उपप्रमुख रुद्रप्रकाश उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत खनाल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, रेडक्रस, सामुदायिक वन लगायत सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरदत्त पन्तले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ५३ वटा विपद् प्रतिकार्य योजना प्रस्तुत गरिएको जानकारी दिनुभयो।
कुनै एक वा अन्य निकायले मात्रै बिपद नियन्त्रण गर्न असमर्थ हुने हुँदा यसमा समुफायलाई नै सकृय बनाईनुपर्नेमा जोड दिईएको छ ।हालसम्म पश्चिम नवलपरासीमा २७ जना विपद् सम्बन्धी तालिमप्राप्त जनशक्ति कार्यरत रहेको जानकारी दिइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस