काठमाडौँ —बीपी राजमार्गअर्न्तगत सिन्धुलीको चियाबारी-खुर्कोट र नारायणगढ-बुटवल सडक खण्डअन्तर्गत दुम्कीबास-बर्दघाट सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन सकिएको छ । अहिले यो खण्डमा दैनिक सवारी चाप रहेकाले छिटो निर्माणमा जानुपर्ने माग स्थानीयतहबाट उठ्दै आएको छ । तर कार्यान्वयन भने अझै हुन सकेको छैन ।
चियाबारी–खुर्कोट खण्डमा धेरै घुम्ती र सडकको दूरी लामो भएकाले स्थानीय जनप्रतिनिधिको माग सुरुङ निर्माण गर्नुपर्ने भन्ने छ ।
गत वैशाखमा सुनकोशी-मरिण डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’ गर्न गएका बेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष स्थानीय जनप्रतिनिधिसहतिको टोलीले अध्ययन भएर बसेको सुरुङको निर्माण प्रक्रिया अघि बढाइदिन माग गरेका थिए । सुरुङ कमलामाई नगरपालिका–२ को चियाबारीमाथि फेदीबाट सुरु भई गोलन्जोर गाउँपालिका–७ को तल्लो बारामा निस्कनेछ । यो सडकखण्डमा घुम्ती धेरै छन् । यात्रुले यात्रामा असहज महसुस गर्छन ।
धेरै घुम्तीका कारण यो खण्डमा दुर्घट्नाको जोखिम रहेको प्रहरीको भनाइ छ । चियाबारी–खुर्कोट सुरुङमार्ग निर्माण भए रामेछाप, दोलखा, ओखलढुंगा, खोटाङ, सोलुखुम्बुसँग तराईको दूरीसमेत छोटिनेछ । गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले यो सुरुङको आर्थिक वर्ष ०७६/७७ मा सम्भाव्यता अध्ययन गरिसकेको छ । आर्थिक वर्ष २०७४/७५ को अध्ययनअनुसार दूरी ४.९० किमी रहने उल्लेख छ । तर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका क्रममा दूरी, लागत यकिन हुने केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए । पूर्व सम्भाव्यता अध्ययनअनुसार खुर्कोट–चियाबारी सुरुङमार्ग निर्माण गर्न १६ अर्ब ८ करोड लाग्ने उल्लेख छ । चियाबारी–खुर्कोट सडक सुरुङ मार्ग निर्माण हुन सके बीपी राजमार्गको नागबेली सडकको दूरी एक तिहाइभन्दा कममा झर्नेछ ।
चियाबारी–खुर्कोट सडकको दूरी अहिले २९.८ किमी रहेकोमा सुरुङ मार्ग निर्माण भए ८.५ किमिमा झर्ने दाबी छ । अहिले उक्त दूरी पार गर्न एकदेखि डेढ घण्टा लाग्छ । सुरुङ निर्माण गर्न सकिए ६ मिनेटमा उक्त दूरी छिचोलिने छ । यो तराईका जिल्ला जान छिटो र छोटो मार्ग हुनेछ । यो खण्ड भएर दैनिक १ हजार ५ देखि २ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । चाडबाडका बेला दैनिक ७ देखि १० हजारसम्म सवारीसाधन ओहोरदोहोर गर्छन् ।
त्यस्तै समस्या रहेको सडक खण्ड हो, नारायणगढ–बुटवल । यस सडक अन्तर्गत नवलपुरको दाउन्ने खण्डमा बढी समस्या छ । यस खण्डमा उकालो र घुम्ती बढी छ । मालबहाक सवारी साधन उकालोमा आइपुग्दा बिग्रेर समेत ट्राफिक जाम हुने गरेको छ । त्यस्तै घुम्ती धेरै भएकाले दुर्घट्नाको जोखिम पनि बढी छ । त्यसैले यस खण्डमा विकल्पका रुपमा सुरुङ निर्माण गर्ने भन्दै अध्ययन गरिएको हो । दुम्कीबास–बर्दघाटको सुरुङमार्गको पूर्व सम्भाव्यता अध्ययन पनि सकिइसकेको छ । ०८० सालमा भएको अध्ययनअनुसार यसको कुल दूरी ५.३ किमी छ । प्रारम्भिक अध्ययनअनुसार यसको निर्माणमा ३८ अर्ब ६९ करोड रुपैयाँ चाहिने छ । अध्ययनअनुसार यी दुवै सुरुङमार्ग निर्मााणकालागि ५४ अर्ब ७७ करोड रुपैयाँ लाग्ने छ ।
करिब दुई दर्जन सुरुङहरुको अध्ययन गरिएको भए पनि निर्माणमा जाँदा यी दुई सुरुङमार्गलाई नै पहिलो प्राथमिकतामा राखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए । ‘अध्ययन धेरै सुरुङहरुको भएको छ,’ उनले भने, ‘तर, मन्त्रालयको पहिलो प्राथमिकतामा बढी सवारी चाप रहेका खुर्कोट–चियाबारी र दुम्किबास–बर्दघाट सुरुङमार्ग नै रहेका छन् ।’