नवलपरासी/पश्चिम्
नवलपरासीमा ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ। नवलपरासी पश्चिमको रामग्राम नगरपालिका– १५ सुक्रौलीस्थित हुलाकी सडक खण्डमा सोमबार साझ करिब ७ बजेको समयमा भैरहवाबाट परासीतर्फ आउँदै गरेको ना.५ ख २२५५ नम्बरको ट्रकले सोही दिशातर्फबाट आउँदै गरेको लु ९२ प ३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक प्रहरी हवल्दार ३९ वर्षीय चुडामणि भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो।
नवलपरासीकै सुनवल– १३ घ्युडल्ला घर भएका भट्टराई इलाका प्रहरी कार्यालय थवाङ रोल्पामा कार्यरत थिए। दसैँ मान्न घर आएको बेला उनी दुर्घटनामा परेका हुन्।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका भट्टराईलाई उपचारको लागि प्रहरीले गाडीमा राखेर जिल्ला अस्पताल परासीमा लगेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। तीव्र गतिका कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।