नवलपरासी,पश्चिम्
हुलाकी सडक निर्माणको काम यथासिघ्र सुचारु गर्न माग गर्दै प्रतापपुर गाउँपालिकाले दबाबमुलक कार्यक्रम सुरु गरेको छ ।गाउँपालिकाले बिभिन्न स्वरुपको विरोध कार्यक्रमको तालिका नै सार्बजनिक गरेको छ ।जस अनुरुप गाउँपालिकाले आज बाट दबाबमुलक बिरोधका कार्यक्रम सुरु गरेको हो ।
६ बर्ष बितिसक्दा समेत हुलाकी सडक निर्माणमा चरम ढिलाई र लापरबाही भएको भन्दै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको नेतृत्वमा जिल्लाका राजनीतिक दल र सरोकारवालाले जिल्ला प्रशासन कार्यालयअगाडि आइतबार १ घण्टा धर्ना दिएका छन् ।
धर्ना पछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले संघिय सरकारले श्रोतको सुनिश्चितता गरिदिए पालिकाले ४ महिनामै सडक निर्माण सम्पन्न गर्ने दावी गर्नु भयो ।
“पटक पटक स्थानीयले हामिलाई घचघच्याएका छ्न,तर हाम्रो मातहतमा छैन,आम नागरिकले बर्षौ सम्म निकै सास्ती भोगेका छन,बाध्य भएर हामी आन्दोलित बनेका हौ,कतिन्जेल यो सास्ती भोग्ने,किन्तु परन्तु यो बाटोको काम सुरु नभए सम्म अब हामी पछि हट्नेवाला छैनौ “अध्यक्ष यादवले भन्नू भयो ।
हुलाकी सडक निर्देशनालय अन्तर्गत प्रतापपुर गाउँपालिका अन्तर्गतको गोपीगञ्जदेखि बेलाटारीसम्मको ६ दशमलव ५ किलोमिटर हुलाकी सडक ६ वर्ष हुँदा पनि निर्माण कम्पनीले निर्माण सम्पन्न नगरेपछि अविलम्ब सुरु गर्नु पर्ने माग सहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाईएको छ ।
गाउँपालिकाले यस अघिनै सडक निर्माणको काम १५ दिन भित्र सुचारु गर्न सरकारलाई पत्राचार गरेको थियो ।सो सयमभित्र काम सुरु नभए आन्दोलित हुन बाध्य हुने गाउँपालिकाले जनाएको थियो ।सम्बन्धित निकायलाई सडक निर्माणको दवाबका लागि राजनीतिक दल ,सरोकारवाला,आम नागरिक सबैलाई अपिल गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
सडक निर्माणका क्रममा खनिएका खाडलले गर्दा हिउँदमा धूलो र वर्षामा हिलोले दैनिकजसो सवारी दुर्घटना हुने गरेको छ । ठेकेदार कम्पनी बज्रगुरु महालक्ष्मी र हुलाकी सडक निर्देशनालयसँग पटक–पटक समन्वय गर्दा पनि काम अगाडि नबढेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तत्काल पगल गरी काम सुचारु गर्ने प्रवन्ध मिलाउन आग्रह गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले सार्वजनिक गरेको तालिका अनुसार सडक निर्माणको दबाबका लागि भदौ २५ गतेदेखी ईलाका प्रशासन कार्यालयमा रिले अनसन र भदौ २८ गते आमारण अनसन बस्ने जनाईएको छ ।
२०७९ सालमा निर्माण सम्पन्न हुनुपर्ने सडक अझै सम्पन्न भएको छैन । जसका कारण स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।