उपराष्ट्रपतिको घरबाट बिहेको लागि राखिएको गहना र नगद चोरी भएको परिवारको भनाई

काठमाडौ ।जेनजी आन्दोलनको अवसर छोपेर उपराष्ट्रपति रामसहाय प्रसाद यादवको कलैयास्थित घरमा लुटपाट भएको छ । उपराष्ट्रपतिका छोरा शत्रुधन यादवका अनुसार घर तोडफोड गरी लुटेराको समूहले बहिनीको बिहेका लागि बनाएर राखिएको गरगहना, नगद रकम लगायत खाद्यान्नसमेत लुटपाट र आगजनी गरेको छ ।

उनका भनाइअनुसार गाउँको खेतबाट ल्याइएको धान, गहुँ, मुसुरो जस्ता अन्नसमेत जलाइदिएको छ । उपराष्ट्रपति यादवकी छोरीको बिहे आगामी मंसिर ८ गते हुँदैछ । बिहेकै लागि जुटाइएको रकम र गहना चोरी भएको परिवारले जनाएको छ ।

घरमा तोडफोड र लुटपाट भएपछि उपराष्ट्रपतिकी पत्नी चम्पादेवी यादव अत्यन्तै चिन्तित बनेकी छन् भने शत्रुधन यादवले “धेरै वर्ष लगाएर बनाएको घरमा राम्ररी बस्न नपाउँदै यसरी तोडफोड हुँदा साह्रै दुःख लागेको छ” भनेका छन् ।

गत मंगलबार पनि जेनजी आन्दोलनमा पूर्वमन्त्री किसान श्रेष्ठ, ज्वालाकुमारी साहलगायतका नेताहरूको घरमा आगजनी र तोडफोड भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस