काठमाडौ ।प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतलगायत सरकारी कार्यालयका आगजनी गर्ने अपराधीलाई नछाड्ने बताएकी छन्। आज पदभार ग्रहणपश्चात कर्मचारीलाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालत जलेर भष्म भएको र अपराधीले हामीमाथि गरेको चुनौती भएको बताइन्।
उनले भूकम्पपश्चात आफू न्यायाधीश हुँदा रेट्रोफिटिङ पश्चात बनाएको र प्रयोग नहुँदै ध्वस्त भएको उल्लेख गरिन्। उनले भनिन्, ‘सर्वोच्च अदालत जलेर भष्म भयो। अपराधीले हामीमाथि गरेको चुनौती हो। यो मुलुकको विरुद्ध गरेको चुनौती हो। जनतालाई साथमा लिएर हामी सबै मिलेर पुनर्निर्माण गर्नुपर्छ।’
सिंहदरबार, सर्वोच्च अदालत जल्दा महत्वपूर्ण कागजात जलेर नष्ट भएको भन्दै उनले चिन्ता व्यक्त गरिन्। भवन जल्नुभन्दा पनि महत्त्वपूर्ण कागजात जल्दा शून्य अवस्थामा पनि पुर्याएको बताइन्।
उनले व्यक्तिका घर र सम्पत्ति आगजनी गरेर २४ गते आतंक फैलाइएको उल्लेख गरिन्। उनले सरकारी तथा व्यवसायी,उद्योगीको सम्पत्तिसमेत क्षति भएको बताइन्। उनले उद्योगी व्यवसायीलाई सरकारले लोन दिएर हुन्छ कि के गरेर हुन्छ प्रोत्साहन गर्नुपर्ने धारणा राखिन्।