काठमाडौ।विदेश जाने प्रवृत्ति बढिरहेका बेला आम युवा मात्र होइन जनप्रतिनिधिले समेत देशमा भविष्य नदेखेको भन्दै विदेशिने क्रम बढिरहेको छ ।
हालै एक वडाध्यक्ष समेत विदेशिएका छन् । गोरखा जिल्लाको चुमनुव्री गाउँपालिका वडा नं ६ का वडाध्यक्ष सरोज लामा विदेशिएका हुन् ।
उनले सामाजिक सञ्जालमा फेसबुकमा भावुक स्ट्याटस लेख्दै देश छाडेको घोषणा गरेका हुन् ।
उनले आफूले सकेसम्म सबैको चित्त बुझाउने कोसिस गरेको तर जति काम गरे पनि जस पाउन नसकेको भन्दै असन्तुष्टि पोखेका छन् । साथै उनले अबबाट शून्यबाट जीन्दगीको यात्रा सुरु गर्ने घोषणा समेत गरेका छन् ।
‘सकेसम्म सबैको चित्ता बुझाउने गरि इमानदारीताका साथ मेरो क्षमताले भ्याए सम्मको भुमिका र कार्य सम्पदान गरियो तर जति गर्दा पनि कहिले पनि जस नपाउने कामले आफुले गरेको कामबाट मलाई कहिले पनि आत्मसन्तुष्टी भएन त्यसैले अव देखि यो राजनितीबाट सदाको लागी विदा भएको निर्णय सहितको घोषणा गर्दै जिन्दगीलाई पुनः एकपटक शुन्य अर्थात जिरोबाट सुरुवात गर्न यो युवा पनि परदेश लागियो ।
मैले वडाको पद छाडेकै करणले गर्दा वडाबाट प्रवाह हुने कुनैपनि सेवा सुविधाहरु प्रवाहित हुने छैन । सबैजनाले कार्यवाहक वडा अध्यक्ष मार्फत सदा झै निरन्तर सेवा उपलब्ध हुनेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।उनी गत निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।