स्याङ्जा : वालिङ नगरपालिका–५ द्वारभञ्ज्याङमा एक बालक बाकसभित्र मृत अवस्थामा भेटिएका छन्। तेह्र वर्षीय निशान थापा आफ्नै घरको बाकसमा मृत भेटिएको बताइएको छ। निशान सरस्वती आधारभूत विद्यालय मिनाङकोटमा कक्षा ८ मा पढ्दै थिए।
आइतबार परीक्षा सकेर उनी घर फर्किएका थिए। घरमा उनकी बहिनी मात्रै थिइन्। उनकी आमा छिमेकीको मेलामा गएकी थिइन्। मेलाबाट फर्केपछि आमाले छोराको खोजी गर्दा भेटिनन्। खोजी गर्ने क्रममा आटीमा राखिएको बाकसभित्र निशानको शव फेला परेको थियो।
घटनाबारे जानकारी पाउनासाथ आइतबार राति नै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए। मृतकको शव पोष्टमार्टमका लागि गह्रौं प्राथमिक स्वास्थ्य केन्द्र वालिङ राखिएको छ।
विशेषज्ञबाट पोष्टमार्टम गर्नुपर्ने जनाउँदै शव परीक्षणका लागि पोखरा पठाउने तयारी भइरहेको प्रहरी भनाइ छ। घटनास्थललाई प्रहरीको निगरानीमा राखिएको छ। प्रहरीले अनुसन्धान जारी राखेको प्रनाउ चौधरीले बताए।