२२ बैशाख, नवलपरासी । शुक्रबार विद्यालय समय सुरु हुनै लाग्दा विद्यार्थीहरु नवजीवन माविमा प्रवेश गर्दै थिए । विद्यालयमा अध्ययनका लागि आएका विद्यार्थीको झोलामा कापी किताव हुनुपर्नेहो तर विद्यार्थीले कापी किताव लिएर गएको पाईएन ।
एक दुई जना होईन विद्यालयमा आउने कक्षा ५ देखी १० सम्मका कुनैपनि विद्यार्थीले कापिकलम लिएका थिएनन् । अरुवेला सोधपुछ गर्ने शिक्षकहरु शुक्रबार भने त्यस विषयमा विद्यार्थीलाई कुनै सोधपुछ गरेनन् ।
सधै कापी किताव लिएर विद्यालय जाने विद्यार्थीहरु शुक्रबार बेल्ना र चौका बोकेर विद्यालय पुगेका थिए । विद्यालयले हरेक महिनाको एक शुक्रबार सिप संग सम्बन्धीत प्रयोगात्मक अभ्यास गर्ने गरी कार्यक्रम तय गरेकोले विद्यार्थीहरु मःमः बनाउने तरीका सिक्नका लागि बेल्ना चौका संग विद्यालयमा आएको विद्यालयका प्रधानाध्यापक कमल प्रसाद अर्यालले बताउनुभयो । उहाँले विद्यालयमा संस्कार र सिप युक्त शिक्षामा जोड दिईएको बताउनुभयो ।
प्ले ग्रुप देखी कक्षा ४ सम्मका विद्यार्थीहरु फुल टाँस्ने कार्यक्रमा सहभागि भएका थिए भने कक्षा ५ देखी १० सम्मका विद्यार्थी मम बनाउने कार्यमा सहभागि भएका थिए ।
सिपमुलक अतिरिक्त क्रियाकलापमा सहभागी हुन पाउँदा विद्यार्थीहरु निकै खुसी देखीन्थे । विद्यार्थीहरु उत्साहीत हुँदै यस अघि पनि अतिरिक्त संचालन हुँदै आए पनि सिपमुलक क्रियाकलाप पहिलो पटक भएको बताए । यस्ता क्रियाकलापले एकतर्फ सिपको विकास हुने र अर्को तर्फ पढाईमा थप रुचि पैदा गर्ने विद्यार्थीहरुको बुझाई छ ।
विद्यार्थीहरुलाई तिन वटा समुहमा विभाजन गरी मम बनाउन सिकाईएको अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक कविन्द्र प्रसाद अधिकारीले बताउनुभयो । अन्य शुक्रबार केही पिरेड पढाई हुने र विद्यार्थीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराईए पनि हरेक महिनाको एक शुक्रबार बुक फ्रि फ्राईडे को रुपमा जीवन उपयोगी सिप सिकाईमा सहभागी गराईने अधिकारीको भनाई छ ।
विद्यार्थीहरुलाई मःमः बनाउन सिकाउनका लागि आर वि हस्पिटालिटी बर्दघाटका संचालक राम भण्डारी सहितको टिम विद्यालयमा पुगेको थियो । भण्डारीले आफु पनि समाज परिवर्तनको पक्षमा लागेको र सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि हुनुपर्छ भन्ने मान्यता राख्ने भएकोले आफु विद्यार्थीहरुलाई मम बनाउन सिकाउन आएको बताउनुभएको थियो । उहाँले अहिले पहिलोपटक सबै जनाले सिक्न कठिन हुने भएकोले आफु फेरी पनि सिकाउन आउने बताउँदै सामुदायिक विद्यालयमा नवजीवनले नगरपालिकामै पहिलोपटक यसरी कार्यक्रम राखेकोमा खुसी ब्यक्त गर्नुभयो ।
विद्यार्थीहरुले पनि निकै रुचि पुर्वक सिकाई क्रियाकलापमा सहभागिता जनाए । विद्यार्थीले मःमः बनाईरहँदा उनीहरुलाई हौसला प्रदान गर्न नगर प्रमुख सम्भुलाल श्रेष्ठ विद्यालयमा पुग्नुभएको थियो ।
उहाँले विद्यार्थीले बनाएको मःमः को स्वाद पनि लिनुभयो । मःमः स्वादिलो र गुणस्तरिय बनेको प्रतिक्रिया दिँदै श्रेष्ठले हरेक शुक्रबार विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागि गराउन र उत्प्रेरणा जगाउन सबै विद्यालयमा यस्ता खालका क्रियाकलाप संचालन गर्नका लागि सहयोग गर्ने बताउनुभयो ।
पछिल्लो समय नवजीवन मावीले शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न प्रयत्न गर्दै आईरहेको छ । अभिभावकहरुले पनि विद्यालयमा आफ्नो सक्रिय सहभागिता जनाउने र बालबालिकाको शिक्षा प्रति चासो ब्यक्त गर्न थालेका छन् । शिक्षक, अभिभावक र विद्यालय ब्यबस्थापन समितिको सहि समन्वय गरी शैक्षिक सुधारका लागि ठोस योजना बनाएर कार्यान्वयन गर्न सके नवजीवन मावि एक नमुना विद्यालय बन्नेमा आफुहरु आसाबादी रहेको अभिभवाकहरुले बताउनेगरेका छन् ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]