नवलपरासीमा प्रतिबन्धित सेतो अण्डा खुलेयाम बिक्रि, किसान मर्कामा

  • hamroaakha
  • / अन्य /
  • २०८१ चैत्र २७, बिहिबार (५ महिना अघि)
  • १५५ पटक पढिएको

 

नवलपरासी,पश्चिम्

प्रतिबन्धित सेतो अन्डा खुलेयाम बिक्रि बितरण हुने गरेको छ ।भारतीय सीमा क्षेत्रबाट अवैध रूपमा सेतो अण्डा भित्रिएपछि नवलपरासीको अण्डा बजार प्रभावित भएको ब्यवसायिको गुनासो छ। यही कारण लामो समयपछि लागत मूल्य पाउन सफल कुखुरा पालक किसान निराश भएका छन्।

तर भारतीय बजारबाट अवैध रुपमा आयात हुने सेतो अण्डा पश्चिम नवलपरासीमा भने खुलेआम विक्री वितरण भइरहेको छ ।

गुणस्तरहीन सेतो अण्डाको अवैध आयात तथा विक्री वितरणमा प्रहरी प्रशासन मौन बस्दा पश्चिम नवलपरासीका कुखुरा पालक कृषक तथा अण्डा व्यवसायीहरु भने नराम्री प्रभावित भएका छन् ।
सदरमुकाम परासीसहित जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा भारतबाट आयात गरिएका सेतो अण्डा खुलेआम विक्री वितरण हुँदा पनि प्रशासन तथा यहाँका स्थानीय पालिकाले चासो नदेखाउँदा स्थानीय कृषक मारमा परेका छन् ।

सामान्य चोक चौराहा र सार्बजनिक स्थानहरुमै सेतो अण्डा छ्यापच्याप्ती देखिने गरेको छ ।यसको नियन्त्रण गर्नु पर्ने सरोकारवाला निकायहरु गुनासो आएपछि मात्रै सक्रिय हुने तर आखै अघि खुलेयाम बिक्री हुँदा समेत प्रशासन अग्रसर भएको भने देखिदैन ।

भारतसँग सीमा जोडिएका नाकाहरु महेशपुर, भुजहवा, विष्णुपुर,झुलनीपुर लगायतबाट भन्सार छलेर सेतो अण्डा आयात हुने गरेको छ । भारतीय सीमा नाकाबाट गैरकानूनी रुपमा भित्रिएका सेतो अण्डाको रोकथाम तथा नियन्त्रणमा कडाइ गर्नुपर्ने बर्दघाट–४ का कुखुरा पालक कृषक रविन्द्रविक्रम हमालले माग गर्नुभयो ।

भारतबाट आयात हुने सस्तो सेतो अण्डासँग नेपाली कृषकले उत्पादन गरेका अण्डाले प्रतिस्पर्धा गर्न नसक्ने उहाँले बताउनुभयो ।
“सेतो अण्डा भारतबाट आयात हुँदा बर्डफ्लुको जोखिम हुने, क्वारेन्टाईन पनि नभइ गैरकानूनी रुपले देशमा भित्रिने भएकोले यो राज्यले पनि प्रतिबन्ध लगाएको चिज हो,खुलमखुल्ला विक्री हुँदा हामी जस्तो कृषकहरु मारमा परेका छौँ”, उहाँले भन्नुभयो, “कम्तिमा पनि प्रतिबन्धित वस्तुहरु खुल्ला रुपमा बेचविखन हुने वातावरण नहोस् ।”

बर्दघाट–१४ स्थित जिसी कृषि फर्मका सञ्चालक रमेश जिसीले भारतबाट आयात हुने सस्तो सेतो अण्डाका कारण नेपालमा उत्पादन भइरहेका रातो अण्डाले मूल्य पाउन नसकेको बताउनुहुन्छ ।

“सीमा क्षेत्रमा सेतो अण्डा भित्रिन नसक्ने गरी कडाइ गर्नुपर्छ,हामीले उत्पादन गर्ने रातो अण्डाको लागत महंगो पर्ने गरेको छ, भन्सार विनै भित्रिने सेतो अण्डा सस्तो हुने भएकोले नेपाली बजार प्रभावित भएको छ”, उहाँले भन्नुभयो ।

सस्तो र गुणस्तरहीन सेतो अण्डा बजारमा खुलेआम छुयापछ्याप्ती विक्री वितरण हुँदा नेपाली कृषक र व्यवसायी विस्थापित हुन बाध्य भएको बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनुभयो ।

सदरमुकाम र आसपासकै क्षेत्रमा निर्वाध रुपमा सेतो अण्डा विक्री वितरण भइरहेकोले यसको रोकथाम तथा नियन्त्रण्का लागि आजै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराइएको उहाँले जानकारी दिनुभयो ।

कानूनी रुपमै प्रतिबन्ध रहेको सेतो अण्डाको अवैध आयात रोक्नुपर्ने नवलपरासी उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरीराज पाण्डेयले माग गर्नुभयो । “यसले नेपाली कृषक र व्यवसायीलाई राहत हुने मात्र नभइ अण्डा उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाइरहन सहयोग पुग्छ”, उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सीमानाकाबाट सेतो अण्डासहित अवैध आयातमा रोक लगाउन सुरक्षा निकायलाई निर्देशन दिने बताउनुभयो । प्रहरी प्रशासनको प्रयासले मात्रै नियन्त्रण नहुने भएकोले उद्योग वाणिज्य संघ तथा स्थानीय सरकारले पनि उत्तिकै चासोका साथ नियन्त्रणमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सेतो अण्डाको अवैध आयात रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका सराकोरवालाहरुसँग आगामी विहीबार छलफल गर्न लागिएको जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले बताउनुभएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस