नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ मा निर्माण सम्पन्न भएको रामग्राम रङ्गशालाको आज एक समारोहबीच उद्घाटन गरिएको छ । नगरप्रमुख धनपत यादवले रङ्गशालाको उद्घाटन गर्दै नगरपालिकाले खेलकुद पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताए ।
नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको रङ्गशाला २०७९ सालदेखि निर्माण सुरु गरिएको थियो । झण्डै ५ करोड १० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न रङ्गशालामा ६सय ३० दर्शक क्षमताको प्याराफिट, २४ वटा सटर तथा खेलाडीका लागि चेन्जिङ रुम निर्माण गरिएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख यादवले नगरभित्रका खेलाडीको संरक्षण, खेल प्रतिभाको विकास तथा समग्र खेलकुद क्षेत्रको प्रवर्द्धनका लागि रङ्गशालाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
नगरप्रमुख यादवले आफ्नो कार्यकालमा नगरभित्र तीनवटा वडा कार्यालय भवन, एउटा रङ्गशाला तथा होमस्टेसहितको सांस्कृतिक भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएको जानकारी दिए ।
जिल्लाकै पहिलो बहुमुखी क्याम्पस पाली बहुमुखी क्याम्पसको छेउमा निर्माण गरिएको रङ्गशालाले स्थानीयस्तरमा खेलकुद गतिविधि सञ्चालन गर्न तथा खेलाडीको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, खेलकुदकर्मी तथा सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो । सहभागी वक्ताहरूले रङ्गशाला निर्माणले जिल्लाको खेलकुद विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।