परासी । कर्तव्य ज्यान मुद्दामा १० वर्ष ५ महिना १७ दिन कैद सजाय तोकिएका एक फरार कसुरदार २० वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ सूर्यपुरा निवासी ५७ वर्षीय वीरेन्द्र गुप्ता रहेका छन् ।
नवलपरासी जिल्ला अदालतले २०६३ साल असार १३ गते कर्तव्य ज्यान मुद्दामा गुप्तालाई १० वर्ष ५ महिना १७ दिन कैद सजाय हुने फैसला गरेको थियो । तर, फैसला कार्यान्वयन हुन बाँकी रहेपछि उनी लामो समयदेखि फरार रहँदै आएका थिए ।
फरार कसुरदारको खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।