नवलपरासी,बर्दघाट । बर्दघाट नगरपालिकामा अध्यापन गराएका एक शिक्षकले शैक्षिक नतिजाका आधारमा प्रदान गरिएको सम्मानमा आफूलाई विभेदपूर्ण रूपमा छुटाइएको भन्दै आपत्ति जनाएका छन् । बर्दघाट नगरपालिका–४ निवासी तत्कालीन शिक्षक विष्णुबहादुर थापाले आफूले लामो समय अध्यापन गराएको विषयमा उत्कृष्ट नतिजा हासिल हुँदा पनि सम्मानपत्र नपाएको गुनासो गरेका हुन् ।
थापाका अनुसार उनि २०७१ सालमा बर्दघाट नगरपालिका–२ चिसापानीस्थित दिव्यज्योति माध्यमिक विद्यालयमा विज्ञापनमार्फत निजी स्रोतको शिक्षकका रूपमा नियुक्त भएका थिए । उनले उक्त विद्यालयमा २०७१ सालदेखि २०८१ असार मसान्तसम्म कक्षा ९ र १० मा सामाजिक अध्ययन विषय अध्यापन गराएका थिए । उनका अनुसार २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उक्त विषयमा विद्यालयले ८४ प्रतिशत नतिजा हासिल गरेको थियो ।
उक्त नतिजाका आधारमा अन्य विषयका शिक्षकलाई सम्मान गरिए पनि आफूलाई भने सम्मानपत्रसमेत उपलब्ध नगराइएको थापाको भनाइ छ । उनले आफ्नो नाम विद्यालयबाट सिफारिस गर्दा छुटेको र पछि सच्याउन पहल गर्दा पनि सम्मानपत्र नपाएको बताएका छन् ।
थापाका अनुसार नाम छुटेको विषयमा विद्यालयमा गुनासो गरेपछि विद्यालयले २०८१ असोज १० गते प्राविधिक कारणले उनको नाम छुट्न गएको व्यहोरासहित शिक्षा शाखामा पत्र पठाएको थियो । तर, विद्यालयले नाम छुटेको स्वीकार गर्दै पत्र पठाउँदासमेत नगरपालिकाको शिक्षा शाखाले सम्मानपत्र उपलब्ध गराउन नमिल्ने बताएको उनको गुनासो छ ।तत्कालिन शिक्षा शाखा प्रमुख लोकराज पन्थी शाखामा कार्यरत रहेको अवस्थामा उक्त पत्र दर्ता भएको देखिन्छ ।भदौमा सम्मान गरिएकोमा उनले पत्र असोज १० गतेनै पत्र दर्ता गराएपनी सुनुवाइ नभएको गुनासो गरे । 
‘शिक्षकहरूले सम्मान पाउनुभयो, मलाई पैसासँगको कुरा होइन । यत्रो समय अध्यापन गराएको र नतिजाका आधारमा सम्मानपत्र पाउनु मेरो आत्मसम्मानको कुरा हो,’ थापाले भने, ‘मेरो मेहनत र परिश्रमको मूल्य एउटा सम्मानपत्रसमेत रहेनछ । त्यसैले म यसका लागि दिनहुँ शिक्षा शाखामा धाइरहेको छु । मेरो विज्ञता अन्यत्र प्रयोग गर्दा पनि त्यो सम्मानपत्रले अर्थ राख्छ नि !’
उनले आफ्नो नाम छुट्नुमा बदनियत रहेको आशंका व्यक्त गर्दै यस विषयमा न्यायोचित रुपमा सम्मानपत्र उपलब्ध हुनुपर्ने माग गरेका छन् ।
यता, बर्दघाट नगरपालिकाका शिक्षा अधिकृत डिल्लीराम ढुङ्गानाले भने २०८० सालको नतिजाका आधारमा प्रदान गरिएको सम्मानका लागि लामो समयपछि माग गरिएकाले अहिले सम्मानपत्र उपलब्ध गराउन नसकिएको बताएका छन् ।
‘हामीले सबै विद्यालयलाई नामावली पठाउन भनेका थियौँ । त्यसपछि पनि छुटेकाहरूको नामावली पठाउन पुनः सूचना जारी गर्ने गर्दछौ । उहाँ यति लामो समयपछि आउनुभयो,’ ढुङ्गानाले भने, ‘उहाँजस्ता अरूलाई पनि हामीले सम्मानपत्र दिएका छैनौँ । सूचना जारी गरेको समयमै उहाँ आउनुपर्थ्यो ।’
शिक्षक थापाले विद्यालयले आफ्नो नाम प्राविधिक कारणले छुटेको भन्दै पत्र पठाएको भएपनि बदनियतपुर्ण रुपमा आफुमाथी अन्याय गरेको बताए ।
शिक्षा शाखाले तोकिएको समयभित्र नाम नआएकाले अहिले सम्मानपत्र दिन नमिल्ने जनाएको छ ।हेर्दा सामान्य बिषय जस्तो देखिएला तर यसले आफ्नो आत्मसम्मानमा ठेस पुर्याएको शिक्षक थापाले गुनासो गरे ।